बागलुङ, १४ माघ– ‘विश्वभरीका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ ।
काठेखोला गाउँपालिकाको वडा नं. ५ र ६ (साविक बिहुँ गाविस)बाट संसारभरी रहेका बिहुँकोटेहरुको भेलाले मञ्च गठन गरेको हो । भेलाले पोर्चुगलमा रहेका गंगाराम कँडेलको अध्यक्ष रहेको मञ्च गठन गरेको हो ।
अंग्रेजी महिनाको जनवरी २४ मा भेला सम्पन्न भएको थियो । बिहुँबाट विश्वभर छरिएका सबैलाई एउटै मञ्चमा जम्मा गरेर बिहुँकोटको चौतर्फी विकासमा सहयोग गर्ने उद्देश्यले संगठित भएको अध्यक्ष कँडेलले बताए । समितिमा बिहुँबाट विभिन्न देशमा छरिएर रहेका सबै बिहुँकोटेहरुलाई समेट्दै यस समितिलाई २०१ सदस्यीय समिति वा आवश्यक परेमा थपघट समेत गर्न सक्ने गरी प्रक्रिया अगाडि बढाउने मञ्चले जनाएको छ ।
बिहुँको दीर्घकालीन विकासमा योगदान दिनसक्ने सामाजिक व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चमा जोड्न थालिएको कँडेलले बताए । साविकको बिहुँकोट क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय शहरको रुपमा विकास गर्ने, यहाँका धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै सबै वर्ग, लिंग, जात, धर्म, विचार र चिन्तनमा बाँधिएका बिहुँकोटे समेटेर अघि बढ्ने मञ्चले जनाएको छ ।
मञ्चको उपाध्यक्ष गोविन्द प्रसाद कँडेल (जापान), देवराज कँडेल (अमेरिका), हिम बहादुर क्षेत्री (जापान), गंगा शर्मा (क्यानडा), टिकाराम कँडेल (जापान), राम प्रसाद कँडेल (बेलायत) र फुल प्रसाद कँडेल (बेलायत) रहेका छन् । महासचिवमा पशुपति कँडेल (अमेरिका), सचिवमा केशव रिजाल (स्पेन), भीम कँडेल (जापान), पूर्ण कँडेल (जापान) र केशव कँडेल (बेलायत) चयन भएका छन् ।
कोषाध्यक्षमा मेघनाथ कँडेल (जापान) सह–कोषाध्यक्ष अमर केसी (जापान), राजेन्द्र कँडेल (बेलायत) र कोषाध्यक्ष सूर्य छवि बिक (पोर्चुगल) चयन भएका छन् । बाँकी ८४ जना सदस्य रहेका छन् ।





