बागलुङ, १८ माघ– अपांगता भएकाहरुलाई रोजगारीको सुनिश्चितता कायम गर्न सरोकारवालाले बताएका छन् ।
बागलुङ बहिरा संघ बागलुङको २० औं बार्षिक साधारणसभाको अबसरमा सहभागीले बहिरालाई रोजगारमूलक शिक्षा र उनीहरुको क्षमता अनुसारको रोजगारी दिन पनि आग्रह गरेका हुन् । बहिराहरुको लेखन तथा संचारको भाषा अन्य अपाङ्गको भन्दा कमजोर हुने हुँदा बहिराहरु बीच मात्र प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गर्न माग गरेका हुन् ।
कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले अपाङ्गता ऐनमा भएको व्यवस्था अनुसार सबै पालिकाले दोभाषे राख्नु पर्नेमा नराखेको बताए । ऐन कार्यान्वयनमा स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने समेत उनले बताए ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय तहबाट हुने कर्मचारी व्यवस्थापनमा बहिराको लागि छुट्टै कोटा निर्माण गर्ने प्रतिबद्धता जनाए । केन्द्रकै नियम अनुसार कर्मचारी छनौट र व्यवस्थापन हुँदै आएकोले अबका दिनमा आफ्नो श्रोतबाट राख्ने व्यवस्थापन गर्ने बताए ।
आन्तरिक स्रोतबाट कर्मचारी व्यवस्थापन गर्दा, सकरात्मक विभेदको नीति लिने उनले प्रतिवद्धता जनाए । नगरपालिकाले दोभाषेको व्यवस्थापन गर्न बजेट विनियोजन गरेको उनले जानकारी गराए ।
बहिरा बिद्यालय बागलुङका सहायक प्रअ सन्तोष पौडेलले अपांगमध्येबाट पनि सकारात्मक बिभेदको नीति लिनुपर्ने धारणा राखे । उनले बहिराको क्षमता अनुसारको रोजगारी दिएमा सफलतापूर्वक काम गर्न सक्ने पनि बताए । बहिरा समुदायका व्यक्तिले मात्र लोकसेवा आयोगको प्रतिस्पर्धाबाट नाम निकाल्न सक्ने वातावरणका लागि पनि उनले माग गरे ।
बागलुङ बहिरा संघका अध्यक्ष नलबहादुर थापाको अध्यक्षता, बासु थकालीको संचालनमा सम्पन्न कार्यक्रममा संघका संस्थापक अध्यक्ष बसन्तजंग राजभण्डारी, युक्तजंग राजभण्डारी, म्याग्दी बहिरा संघकी अध्यक्ष गंगा घर्ती मगरलगायतले बोलेका थिए । कार्यक्रममा सचिव सुनिता शर्माले बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष टेकनाथ आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।





