नवलपुर, १९ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्डको राजनीति पलायन हुने ठोकुवा गरेका छन् । सोमवार प्रदेश लाईफलाईन मानिएको त्रिवेणी–कोरोला अन्तरगत दुम्किवास–त्रिबेणी खण्डको बाटो निरिक्षणमा नवलपुर आएका मुख्यमन्त्री गुरुङले मध्यबिन्दुको अरुणखोलामा ओली पक्षको नेकपाले आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डलाई नेपाली राजनीतिमा बिजुली चम्के झै आएको भन्दै उनको पलायन पनि त्यसरी नै हुने बताए ।
मुख्यमन्त्री गुरुङले नेपाली कम्युनिष्ट आन्दोलनका मोहन बिक्रम सिंह, मोहन बैद्य सहित बाबुराम भट्टराई लगायतले छोडेका प्रचण्डलाई कसैले बिश्वास गर्न नहुने बताएका छन् । उनले प्रचण्डलाई धोकेवाजको संज्ञा दिएका छन् ।
मुख्यमन्त्रीले माधवकुमार नेपालले अध्यक्ष नपाएरै प्रचण्डको पछि–पछि लागेको बताए । विधिको कुरा गर्ने नेपालले आफै अध्यक्ष पदको लागि महाधिवेशन सम्म कुर्न नसकेको मुख्यमन्त्रीको आरोप छ ।
नेकपाबाट अवसरवादी नेताहरु पलायन भएको भन्दै उनिहरु बाहिरिदा नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै क्षति नहुने बताउँदै मुख्यमन्त्रीले केपी ओली नेतृत्वको नेकपा नै आधिकारिक पार्टी रहेको दावी गरेका छन् । उनले चुनाव चिन्ह सुर्य ओली नेतृत्वकै भएको जिकिर गरेका थिए ।





