मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

संसद विघटनविरुद्ध सडकमा कांग्रेस : ‘बेलैमा विरोध नगर्दा बर्बाद’

संसद विघटनविरुद्ध सडकमा कांग्रेस : ‘बेलैमा विरोध नगर्दा बर्बाद’


  • ढोरपाटन सम्वाददाता
  • माघ २० २०७७, मंगलबार

पोखरा, २० माघ– संसद विघटनविरुद्ध सडकमा ओर्लिएको नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरुले पोखरासहित गण्डकीका सबै जिल्लामा प्रदर्शन गरेका छन् । मातृ पार्टी कांग्रेसको आह्वानमा विभिन्न १३ वटा भातृ संगठनहरुले सोमबार संयुक्त प्रदर्शन गरेका हुन् । यही उपक्रममा बागलुङमा भएको प्रदर्शनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले प्रचण्ड र माधव नेपालले बेलैमा ओलीका कदम कदमविरुद्ध नबोल्दा देश नै बर्बाद हुन लागेको टिप्पणी गरे । ओली सरकारले जनता विरोधी विधेयक ल्याउँदा विरोध गरेको कांग्रेसलाई साथ नदिई मौन बसेका नेकपाका पुष्पकमल दाहाल,माधवकुमार नेपाललगायतका नेताहरुको गल्ती भएको उनको जिकिर थियो । ‘सुरुबाटै ओलीका असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गर्न सकेको भए संसद बिघटनको अबस्था आउने थिएन’, पौडेलले भने, ‘आफ्नो स्वार्थ पूरा नभएपछि मात्र सडकमा आउँदा देशै बर्बाद हुने कदम सुरु भएको छ ।’
विरोध कार्यक्रममा पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जनताको विश्वासमा कुठाराघात गरेर प्रधानमन्त्री ओलीले संसद भंग गरेको आरोप लगाए । उनले संसद पुनस्थापना र लोकतन्त्रको रक्षाका लागि फेरि कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने बेला आएको बताए ।
यता, पार्टीको निर्देशन अनुसार कास्कीमा रहेका भातृ संगठनहरुले गण्डकी प्रदेशको राजधानी पोखराको महेन्द्रपुलमा विरोध प्रदर्शन गरे । नेपाली कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली विपी चोकहुँदै महेन्द्रपुलमा पुगि विरोध सभामा परिणत भएको थियो ।
प्रदर्शनपछि बोल्ने वक्ताहरुले प्रधानमन्त्री केपी ओलीले संविधान माथि ‘क’ु गर्दै लोकतन्त्र विपरित संसद विघटन गरेको जिकिर गरे । विरोधसभामा बोल्दै कास्की कांग्रेस सभापति कृष्ण केसीले प्रजातन्त्र, बहुदल,संघीयताको रक्षाका लागि कांग्रेस सडकमा आउन बाध्य भएको बताए । सभापति केसीले जनताले शान्तिको युग आएको सोचेको बेला कम्युनिष्ट सरकारले द्धन्द्ध र अशान्ति मच्काउने काम गरेको बताए । कांग्रेसमाथि सत्ता छाड्न नसक्ने आरोपहरु लाग्दै आएको स्मरण गर्दै उनले भने, ‘कांग्रेसलाई सत्तासँग जोडेर नहेरीदिनुहोला । यो आन्दोलन लोकतन्त्र रक्षाको लागि हो । आउनुहोस् सबै मिलेर यसको सामना गरौँ ।’ उनले निर्वाचनको बेला पानीजहाज, घरघरमा ग्यासको लाइन जस्ता सपना देखाएर जनतालाई भ्रममा पार्दै ३ वर्षमा नै प्रधानमन्त्री ओलीले जनतालाई धोका दिएको पनि जिकिर गरे । सभालाई संवोधन गर्दै पूर्वकानूनमन्त्री यज्ञबहादुर थापाले १६ वर्षअघि आजकै दिन राजा ज्ञानेन्द्रले ‘कु’ गरेको स्मरण गर्दै १६ वर्षपछि ओलीले पनि संविधान माथि ‘कु’ गरेको बताए । सर्वोच्च अदालतले समयमा यो विषयमा निर्णय दिन नसक्दा सर्वोच्च पनि व्यक्तिको छायाँमुनि परेको हो कि भन्ने आशंका लागेको उनको भनाई थियो । ‘ओलीले संसद् विघटन गरेकै होइनन्, वैशाखमा कुनैपनि हालतमा चुनाव हुँदै हुँदैन । अब हामीले जनजनको मनमनमा यो कुरा बुझाउन जरुरी छ कि कम्युनिष्ट भनेकै धोका हो’,उनले भने,‘ उनीहरुले आफ्नो स्वार्थमात्र हेरेका हुन्छन ।’ कांग्रेस नेता शुक्रराज शर्माले लोकतन्त्रमाथि खतरा आएकोले कांग्रेस लोकतन्त्रको रक्षा गर्न अघि बढिसकेको बताए । ‘कम्युनिष्टको सरकार बलियो हुने आधार थियो तर, उनीहरुले आफूमात्र होइनन् लोकतन्त्र बलियो बनाउने आधारहरुमा समेत बिस्तारै प्रहार गर्दैछन’,उनले भने,‘ लोकतन्त्र रक्षाको जिम्मा युवाहरुको काधमा आएको र अब एकपटक पुनः आन्दोलनमा उत्रिनुपर्ने बाध्यता आइपरेको छ ।’ कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष कोपिला रानाभाट, नेपाल दलितसंघ कास्की सचिव गोविन्द नेपाली, नेविसंघ पूर्वकास्की अध्यक्ष विकास थापालगायतले विरोधसभामा प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको बताएका थिए । उता, बागलुङमा भएको विरोध कार्यक्रममा नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता, नेपाल तरुणदलका अध्यक्ष उमाकान्त शर्माको संचालन र लोकतान्त्रिक मगर संघका अध्यक्ष तिलक घर्ती मगरको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व सांसद गोबिन्दप्रसाद शर्मा कंडेल, पूर्वसभापति हरिप्रसाद श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, नेबिसंघका अध्यक्ष खड्ग थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य, भूपू सैनिक संघका अध्यक्ष हरिबहादुर भण्डारी, अपांग संघका अध्यक्ष गंगाप्रसाद कंडेल, दलीत संघका अध्यक्ष तारा बिक, प्रजातन्त्र सेनानी संघका अध्यक्ष ताराप्रसाद गौतम लगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->