तनहुँ, २४ माघ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी गरेको गल्तीलाई सर्वोच्च अदालतले सच्याउने बताएका छन् । रिपोटर्स क्बल तनहुँद्धारा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनले संसद पुनस्र्थापन आन्दोलनबाट नभई अदालतबाट फैसलाबाट हुने बताए ।
‘पार्टीभित्रको झगडालाई लिएर प्रधानमन्त्रीले संसदमा प्रहार गर्नु गल्ती हो’ उनले भने, ‘संसद विघटनलाई सर्वोच्च अदालतले सच्याउनेमा ढुक्क छौँ ।’ संविधानको मर्म र भावना विपरित संवैधानिक आयोगमा गरिएको नियुक्ति खारेज हुनुपर्नेमा नेता पौडेलको जोड रह्यो । उनले देशमा स्थायीत्व र समृद्धि आवश्यक रहेको जनाए ।
नेपाली काङ्ग्रेसले मात्रै देश विकास गर्न सक्ने दावी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक धु्रवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको दाबी गरे । झण्डै दुई तिहाई मत प्राप्त सरकारले जनभावना अनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको उनको भनाई छ । वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको चर्चा गरे ।





