बेनी, २५ माघ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्नेभन्दा पनि सर्वोच्चले त्यसमा कस्तो फैसला गर्छ त्यसलाई मानेर जानुपर्ने बताए । शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्दै उनले भने,‘सरकारलाई आफ्नै पार्टीबाट असहयोग भयो,‘अहिलको संकटको अवस्था सत्तापक्षकै कारण हो,प्रतिपक्षको यसमा कुनै भूमिका छैन ।’
उनले संसारकै उत्कृष्ट संविधानको रक्षामा सबै लाग्नुपर्ने अवस्थामा पार्टीभित्रकै विवादले पक्ष र बिपक्षमा लागेर खुइल्याउने काम भइरहेको बताए । ‘संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ,‘पुर्नस्थापना भए संसदमा जानुहोस्, ताजा जनादेशको फैसला भए निर्वाचनमा’ अध्यक्ष तिमिल्सिनाले भने ।
स्वर्ण स्तम्भको उद्घाटन
सदरमुकाम बेनीको कालिपुल बसपार्कमा भगवान् शिवको स्वर्ण स्तम्भको उद्घाटन गरिएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको अवसरमा निर्मित स्तम्भको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार विहान उद्घाटन गरेका हुन् ।





