नवलपुर, २६ माघ– नवलपुरका २ नगरपालिकाले आईतवार एकैदिन नगरसभा सम्पन्न गरेका छन् । जिल्लाका देवचुली र मध्यबिन्दु नगरपालिकाले नगरसभा समपन्न गरेका हुन् ।
नवलपुरको देवचुली नगरपालिकाको सातौं नगरसभाले दुई वटा विधयक पास गरेको छ ।
आईतवार नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाले जलश्रोत विधयक २०७७ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पास गरेको हो । विधेयक समितिका संयोजक दिनानाथ भुसालले पेश गरेको विधयक सर्वसम्मत पास भएको हो । त्यसैगरी, उपप्रमुख पार्वता तिवारीले पेश गरेको २०७७ साउनदेखि पौष मसान्तसम्मको आर्थिक तथा प्रगति विवरण पनि सभाले सर्वसम्मत पास गर्यो ।
सभा नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । यस्तै, नवलपुरकै मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा आईतबार सम्पन्न भएको छ ।
सभाले अर्ध वार्षिक समिक्षा र पुरक अनुमान वजेट पारित गरेकोे छ । पुरक बजेट नगरपालिका उपप्रमुख ओम कुमारी महतोले प्रस्तुत गरेका थिइन । आठौं नगरसभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि संसोधन सहित अनुमानित चार करोड ७८ लाख २१ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट अनुमोदन गरेको छ ।
चालु खर्चतर्फ एक करोड पाँच लाख रुपैया र पुँजीगत खर्चतर्फ तीन करोड दुई लाख ६३ हजार एक सय ९४ रुपैया ७९ पैसाको पुरक बजेट प्रस्तुत भएको होे ।
नगर प्रमुख चन्द्रवहादुर रानाको अध्यक्षतामा भएको नगर सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गरेका थिए ।





