बेनी, २७ माघ– बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट पारित भएको छ । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको बजेट पारित गरेको थियो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेटलाई थप गरेर ६६ करोड सात लाख ४६ हजार ४४२ रुपैयाँ रहेको छ । संचित कोषमा रहेको मध्य दुई करोड ७८ लाख ८८ हजार ४७० रुपैयाँ विभिन्न योजनाहरुलाई बिनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले पारित गरेको छ । नगर उपप्रमुख सञ्जु बरुवालले संसोधित बजेट बक्तव्य र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरिएको थियो । बाँकी मध्य थप एक करोड ९० लाख ८० हजार रुपैयाँ पनि विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन भएको छ ।
गत आर्थिक वर्ष २०७६÷७७ मा कुल तीन करोड ३३ लाख ३८ हजार ५५० रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको पौष मसान्त सम्म एक करोड ४८ लाख १० हजार ९८७ रुपैयाँ संकलन भएको छ । यस वर्ष नगरपालिकाले चार करोड तीन लाख रुपैयाँ राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो ।वडा न. ८ को कार्यालय र क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न निजी घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रुपैयाँ बिनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए । उनका अनुसार वातावरण सम्बन्धी ऐन बनेपछि नदीजन्य पदार्थको उत्खनन् निकासी र अन्य विकास आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन नगर कार्यपालिकाले पारित गर्ने अधिकार पाएको छ । नगरभित्र वातावरण सम्बन्धी ऐन नहुदाँ समस्या हुने गरेको थियो ।





