पोखरा, २९ माघ– नेपाली सेनाले भूतपूर्व सैनिकहरुको शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई प्राथमिकतामा राखेको जनाएको छ । सेनाले ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार ः आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नारासहित आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलनमा सो क्षेत्रमा पाइला बढाउने पूर्वसैनिकलाई सम्मान पनि गरेको छ ।
नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजकमा पोखरामा रहेको पश्चिम पृतनामा सुरु भएको सम्मेलनमा सर्वाेत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्वजमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्वप्रबन्धक चन्द्रसिंह बस्नेतलाई सम्मान गरियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले उनीहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बागलुङका ९६ वर्षीय पूर्वसैनिक मनिराज थापा, र अवकाशप्राप्त सुवेदार हर्कबहादुर थापा मगरकी श्रीमती ९९ वर्षीया नरकुमारी थापामगरलाई सम्मान गरियोे भने चार वा सोभन्दा बढी सन्नततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई पनि सम्मानित भए । फरक क्षमता भएका तथा अशक्तलाई दैनिक जीवनमा प्रयोग हुने सामग्री र नगद एवं लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशीलता कर्जा पनि वितरण गरियो ।




