नवलपुर, २९ माघ– नवलपुरको कावासोती नगरपालिकाले कृषिलाई यान्त्रीकरण गर्ने उद्देश्यले सहयोगी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाभित्रका २ वटा कृषक समुह र १५ जना साना कृषि व्वसायीलाई बुधवार एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण भएको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदान र लाभग्राही कृषकको ५० प्रतिशत लागत साझेदारीमा कुल १३ लाख ३३ हजार ५ सय रुपैयाँका १७ वटा कृषि प्रयोजनका विभिन्न यान्त्रिक औजारहरु वितरण भएको हो ।
किसानलाई १० वटा घाँस छाँटी काट्ने चापकटर मेसिन, २ वटा मिनी टिलर (हाते ट्याक्टर), ३ वटा माछापोखरीमा माछाका लागि अक्सिजन दिर्ने एरिएटर दर्ता भै सञ्चालनमा आएका व्यावसायिक फर्मका सञ्चालक र २ वटा धान काट्ने रिपर हाते ट्याक्टरसहितको मेसिन वितरण गरिएको पशु विकास अधिकृत एवं कृषि तथा पशुपंक्षी शाखा कावासोतीका प्रमुख डाक्टर टेकराज पौडेलले बताए ।
कावासोती नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले परम्परागत र जिविकोपार्जनमा मात्र केन्द्रित नभई कृषिमा यान्त्रीकरणको अधिकतम् उपयोग गर्नुपर्ने सुझाए ।





