नवलपुर, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं गण्डकी प्रदेश समितिका अध्यक्ष हेमजंग गुरुङले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा भएको बताएका छन् ।
नवलपुरको कावासोतीमा बिहीवार आयोजित राप्रपाको भगिनी संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि समेत रहेका नेता गुरुङले निर्वाचन आयोगमा दर्ता भएका नेपालका १ सय ८४ दलमध्ये राप्रपा मात्रै धर्म, संस्कृति र संस्कार मान्ने र धर्ममा बिश्वास गर्ने पार्टी भएको जिकिर गर्दै लोकतन्त्रबादीहरुले राजतन्त्र हटाउने, हिन्दु राज्य हटाउने दुष्प्रयास गरेका कारण मुलुकले यो दुर्दशा भोगेको दावी गरे ।
धर्म भनेको अफिम हो भन्दै हिड्ने प्रचण्डले भैंसी पूजा गर्नु र पशुपतिनाथका नाममा सपथ लिन नचाहने प्रधानमन्त्री केपी ओलीले अहिले बल्ल पशुपतिनाथको शरणमा पुग्नु संकटका बेला भगवान पुकारेको मात्र भएको बताए ।
गण्डकी प्रदेश समिति अध्यक्ष गुरुङले २०४७ सालयता मुलुकमा भ्रष्ट्रचारको गति बढेको टिप्पणी गरेका छन् । उनले भ्रष्टचारको मूल नेता र कर्मचारी भएकाले ठूला नेता र कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए ।
नेता गुरुङले भुपरिबेष्ठित र दुई ठूला देशका बीचमा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताउँदै अधिकार सम्पन्न स्थानीय सरकार र बलियो केन्द्रीय सरकारको पक्षमा आफुहरु उभिएको अभिब्यक्ति दिएका छन् । उनले भने–“मुलुकले ७–८ सय महाराजा पाल्न सक्तैन ।”
सिंहदरवारको अधिकार गाउँ–गाउँमा भन्ने नाराको ठीक उल्टो भ्रष्टाचार वडा–वडामा पुगेको गुरुङको तर्क थियो । उनले भने– “जनप्रतिनिधि भनेका त जागिरे भए, जागिरे मात्रै होईन घुस्याहा भए । मृत्यु जस्तो पीडा र संबेदनशील मानवीय भावनामा पनि दर्ता गर्दा घुस दिनुपर्ने अवस्था सृजना भएको छ ।”
नेता गुरुङले जनताको जनादेशलाई ओलीले पालना नगरेर बेमौषमी चुनाव घोषणा गरेको जिकिर गरेका छन् ।
उनले अहिले कम्युनिष्ट फुटेको र कांग्रेस झगडामा अल्मलिएको अवस्थामा राप्रपाको एजेण्डा र पार्टीप्रति जनलहर बढेको दावी गरे ।
राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन नवलपुरको तदर्थ समिति अध्यक्ष शुशिलादेबी थापामगरको अध्यक्षतामा भएको भेलालाई राप्रपा केन्द्रिय सदस्य बलराम थापा, जिल्ला उपाध्यक्ष रामनाथ उप्रेती लगायतले पार्टीको सांगठनिक गतिबिधिका बारेमा चर्चा गरेका थिए । भेला समारोहको सञ्चालन केन्द्रिय सदस्य एवं राप्रपा नवलपुरकी महिला नेतृ बिन्दु पहाडीले गरेकी थिईन् ।
भेलाले शुशिलादेबी थापा मगरको संयोजकत्वमा १२ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
सदस्यमा मिनाकुमारी राना, सृजना गैरे, देबी ढकाल, पबित्रा कुमाल, उमा तिवारी, मनकला भण्डारी, लक्ष्मी न्यौपाने, पुष्पादेबी काफ्ले, माया गुरुङ, निर्मला गुरुङ, भवानी रिजाल उप्रेती छन् ।





