लमजुङ, ३० माघ– पुर्वि लमजुङको दोर्दी गाउँपालिका– ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।
दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं. को जिप बिहीबार साँझ ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत दुईजना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रमुख एवं डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् ।
त्यस्तै धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जिनियर सुनिलकुमार साह, दोर्दी गाउँपालिका ६, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ वर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ वर्षीया सुसना विक घाइते भएका छन् । विद्यार्थीहरु स्कुल बिदा भएपछि गाउँ जान जिप चढेका थिए । घाइते उनीहरुको जिल्ला अस्पताल बेंसीसहर ल्याई उपचार भईरहेको जिल्ला प्रहरीले जनाएको छ ।
घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका असई अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए ।





