पोखरा, ४ फागुन– गण्डकीमा यो समाचार तयार पार्दासम्म १५ हजार ८३४ जना कोरोना संक्रमितमध्ये २७९ जना मात्र संक्रमण मुक्त भएका छैनन् । कोरोनाबाट गण्डकीमा हालसम्म २०३ जनाको मृत्यु भएको छ । हालसम्म गण्डकी प्रदेशमा १ लाख २९ हजार २८ जनाको पीसीआर परीक्षण भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ ।
कोभिड संक्रमण मत्थर भएको छ । अग्रपंक्तिमा खटिनेहरुले कोभिडविरुद्धको भ्याक्सिन लगाइरहेका छन् । भ्याक्सिन आएसँगै कोभिड गण्डकी प्रदेश सरकारको टाउको दुखाई कम भएको छ । अस्पतालमा बेड नपाउने, दिनदिनै मृत्युका समाचार सुन्दै गर्दा उठेका आलोचनाका स्वरहरु अहिले धीमा बनेका छन् । यद्यपि, कोरोना संक्रमण उच्च भएको बेला सरकार आलोचनाबाट मुक्त रहन सकेन । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले गएको असार २३ गते संकल्प प्रस्ताव दर्ता गरे ।नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका थिए ।सदन र सडक दुबैतिरबाट आलोचित हुँदा प्रतिपक्षीले ल्याएको एक घर, एक पीसीआर, जिल्लामा पीसीआर मेसिन स्थापनालगायतका प्रस्ताव अस्वीकृत गरियो ।
कोरोनामै टेकेर गएको पुसमा संविधानको धारा १८३ को उपधारा ३ मा टेकेर गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग भयो । कांग्रेससहित जनता समाजवादीले विशेष अधिवेशनमै संकल्प प्रस्ताव दर्ता गराउन खोजे । तर, पछि त्यसलाई साझा प्रस्ताव बनाइयो ।
गण्डकी प्रदेशमा गएको चैत १५ गते एक किशोरीमा कोभिड–१९ संक्रमण पुष्टि भयो । बागलुङकी किशोरीमा संक्रमण देखिएसँगै प्रदेश सरकारले सक्रियता देखायो । गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयंले संक्रमण देखिएसँगै सक्रियता देखाए । उनी आफै बागलुङ अस्पताल पुगे । संक्रमितहरुसँग कुराकानी गरे । अस्पतालको अवस्था बुझे । तत्काल आइसीयू थप्न निर्देशन दिए । उनको निर्देशनसँगै धौलागिरी अस्पतालमा रातारात आइसीयू बेड तयार भयो । भेण्टिलेटरको व्यवस्थापन भयो । मुख्यमन्त्रीले प्रदेशका सबै नागरिकको निःशुल्क पीसीआर गर्ने घोषणा गरे । उनको घोषणा र एक्सनको सर्वत्र प्रशंसा भयो ।
त्यसो त, देशमा संक्रमण देखिएपछि नै मुख्यमन्त्रीकै अध्यक्षतामा यहाँ कोभिड–१९ को संक्रमण, रोकथाम, प्रभावकारी नियन्त्रण तथा व्यवस्थापन उच्चस्तरीय निर्देशक समिति, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा व्यवस्थापन सहजीकरण समिति र प्रमुख सचिवको नेतृत्वमा समन्वय समिति र थप १० वटा विषयगत समिति गठन भएका थिए । गण्डकी सरकारले प्रदेशमध्ये नै पहिलोपटक गएको चैतमा प्रदेश स्वास्थ्य प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षणको थालनी ग¥यो । पहिलो पीसीआर मेसिन किन्ने प्रदेश पनि गण्डकी नै थियो । जिल्ला अस्पतालमा ३ देखि ५ वटा आइसीयू बेड बनाउने निर्णय पनि गरियो । नवलपुरको मध्यविन्दुमा पीसीआर मेसिन राख्न बजेट पनि विनियोजन भयो ।
प्रदेश सरकारले सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,जिपी कोइराला श्वासप्रश्वास केन्द्र, धौलागिरी प्रादेशिक अस्पताललाई कोभिड उपचार केन्द्र घोषणा ग¥यो । पछि जिल्ला अस्पतालहरु पनि संक्रमितको उपचारको लागि प्रयोग गर्ने निर्णय भयो । मनाङ र मुस्ताङका जिल्ला अस्पतालमा २ वटा भेन्टिलेटर र ३ बेडको र बाँकी ९ वटा जिल्ला अस्पतालमा ३ वटा भेन्टिलेटर र ५ बेडको आइसियु कक्ष स्थापना गर्न बजेट पठाइयो । तर प्राविधिकको अभावमा त्यहाँ अझै ती सेवा सुरु भएको छैन । प्रदेशभर सरकारी र सामुदायिक गरी १४१३ शैया र ४० आइसोलेसन केन्द्र कोरोना उपचारको लागि छुट्याएको बतायो ।
गण्डकी सरकारले साउन १ गते कास्कीको लेखनाथमा संक्रामक तथा सरुवा रोग अस्पताल सुरु ग¥यो । ५० शैयाको सो अस्पतालमा अहिले पनि दक्ष जनशक्तिको अभाव छ । १ सय बेडको अस्पताल बनाउने घोषणा गरिए पनि हाल त्यहाँ करिब ६० वटा बेडमात्र संचालनमा छन् । प्रदेशबाट पोखरा महानगरलाई रु १ करोड, प्रत्येक नगरपालिकालाई रु १० लाख, र प्रत्येक गाउँपालिकालाई रु ५ लाख गरी जम्मा रु ६ करोड ५० लाख अनुदान दिइयो । राहतको प्याकेज बाँडियो । त्यसो त प्रदेश सरकारले ३० करोड राखेर बनाएको कोरोना कोषमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न व्यक्ति तथा सघं÷ संस्थाहरुबाट ५ करोड १२ लाख ५० हजार ७ सय ९२ रुपैयाँ समेत गरी कूल ३५ करोड १२ लाख ५० हजार ७ सय ९२ रुपैयाँ जम्मा पनि भयो । त्यो कोषको २७ करोड ८ लाख ७३ हजार खर्च भएको र हाल ८ करोड ३ लाख ७७ हजार बाँकी रहेको सरकारले जनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र स्थानी सरकारको सक्रियताकै कारण कोभिड व्यवस्थापनमा गण्डकी अब्बल भएको जिकिर गरेका छन् । ‘हामी कोरोना व्यवस्थापनमा अरु प्रदेशभन्दा अब्बल नै रह्यौँ’, उनले भनेका छन्,‘ सदनमा प्रतिपक्षले ल्याएको संकल्प प्रस्ताव राजनीतिक स्टण्ड थियो, किनकि एक घर ,एक पीसीआर आवश्यक थिएन । पीसीआर भ्याक्सिन हैन किनकि भ्याक्सिनजस्तो पीसीआर गर्दैमा कोरोना नसर्ने पनि हैन । ’प्रदेश सरकारले पहिलो चरणको खोप कार्यक्रमसँगै दोस्रो चरणको तयारी गरेको जिकिर पनि गरेको छ । गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्रीको भाषामा भन्दा कोरोना अर्थतन्त्रको लागि कहर भए पनि स्वास्थ्य क्षेत्र सुधारको लागि भने वरदान सावित भयो । ‘कोरोनाले नै हामीलाई यहाँको स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने जानकारी दिलायो,हामीले जनताको जीवन रक्षाको लागि रातारात काम ग¥यौँ, खुलेर बजेट विनियोजन ग¥यौँ’, उनले सार्वजनिक कार्यक्रममा भन्दै आएका छन्,‘यही कारणले अहिले हाम्रो आफ्नै संक्रामक रोग अस्पताल छ, जिल्ला अस्पतालहरुमा भौतिक पूर्वाधार थपिएका छन्, हामी आफै पनि टिचिङ अस्पताल बनाउने तयारीमा छौँ ।’





