नवलपुर, ११ फागुन– बिद्यालयको मूलगेट पल्टिदा च्यापिएर ८ बर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने एक बालक सामान्य घाईते भएका छन् । कावासोती नगरपालिका वडा नं. ५ को सामुदायिक बिद्यालय कालिका माविमा कक्षा ३ मा पढ्ने छात्रा गमित्रा सिंजालीको मृत्यु भएको हो । त्यस्तै, कक्षा ४ मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल घाईते छन् ।
स्लाईड गरेर खोल्ने र बन्द गर्ने गेटबाट ट्रयाक्टर भित्र लैजाँदा बिहान खोलिएको गेटमा बालबालिका खेल्दै गर्दा एक्कासी फलामे गेट पल्टिएको बिद्यालय प्रशासनले जनाएको छ ।
प्रधानाध्यापक लेखराज पोख्रेलका अनुसार आज मंगलवार पौने ११ बजे दुर्घटना भएको हो । दुर्घटना लगत्तै घटनास्थलमा पुगेका शिक्षकहरुले गेट उठाएका थिए ।
नवलपुर प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेर शव पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाईएको छ सामान्य घाईते अर्का बालक उपचारपछि डिस्चार्ज भएका छन् ।
बिद्यालयको ४१ औं बार्षिकोत्सबको तयारी भएकाले बिद्यार्थी केही ढिलो गरी बिद्यालय आएका थिए ।





