सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

धनी ढोरपाटन !

धनी ढोरपाटन !

१ हजार ३२५ वर्ग किलोमिटरमा फैलिएको ढोरपाटन शिकार आरक्षणले बागलुङका साथै पूर्वी रुकुम, म्याग्दीमा फैलिएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी र १ सय ६४ पंक्षी पाइन्छन् ।


  • कृष्ण पौड्याल
  • फाल्गुन २५ २०७७, मंगलबार

हिमाल, पहाड र तराईको अनौठो संगम अनि विचित्र भू–बनौटसहितको देश हो, नेपाल । उत्तर दिशामा पश्चिमदेखि पूर्वसम्म फैलिएका पंक्तिबद्ध हिमश्रृंखलाहरु छन् । विश्वको सर्वोच्च १० ओटा शिखरमध्ये सगरमाथा लगायत आठवटा हिमचुलीहरु नेपालमै छन् ।
हिमालमुनि तरेली परेका हरिया पहाडहरु छन् । तिनकामुनि भित्री मधेस र उर्वर तराई छ । विभिन्न ताल, तलैया, नदीनाला, खोला, झरना रहेको प्रकृतिको एउटा सुन्दर सृजनाजस्तो लाग्ने यो मुलुक विश्वकै सुन्दर देशहरुमध्ये एक हो ।
शान्तिका अग्रदूत मानिने गौतम बुद्धको जन्मस्थल नेपालमा प्राकृतिक दृश्यका दृष्टिले सयौं आकर्षक र सुन्दर ठाउँ छन् । तीमध्ये गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको ढोरपाटन प्राकृतिक, सांस्कृतिक, जैविक विविधताका दृष्टिले मनमोहक स्थल हो ।
ढोरपाटन पश्चिम भेगको उच्च स्थानमा पर्ने हिमाली क्षेत्र हो । यस क्षेत्रलाई सिमसार क्षेत्र पनि भनिन्छ । यो क्षेत्र समुद्र सतहबाट करिब २ हजार मिटरदेखि ७ हजार २४६ मिटरको उचाइमा छ । यहाँ शितोष्ण, लेकाली र हिमाली किसिमको हावापानी पाइन्छ । नेपालले यस ढोरपाटन क्षेत्रलाई ०४४ साल वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गराएर शिकार आरक्षको घोषणा गरेको हो ।
उच्च हिमाली भूभागमा अवस्थित धौलागिरी हिमश्रृंखलामा पर्ने ढोरपाटन शिकार आरक्ष नेपालको एकमात्र शिकार आरक्ष हो । यस शिकार आरक्षको क्षेत्रफल १ हजार ३२५ वर्ग किलोमिटर छ । रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएर रहेको यस ढोरपाटन शिकार आरक्षको सबैभन्दा बढी अर्थात करिब ६०% भूभाग रुकुम जिल्लातर्फ पर्दछ भने करिब २६% भूभाग बागलुङ जिल्लातर्फ र बाँकी १४% भूभाग म्याग्दी जिल्लातर्फ रहेको छ ।
नेपालको धार्मिक आस्था, आर्थिक तथा सामाजिक विकासको कोसेढुंगा अनि मिश्रित जातजातिको बसोबास रहेको यस क्षेत्रको भूबनोट अनौठो छ । कुनै कुशल शिल्पकारले काटेर राखेजस्ता तरेली परेका थुम्का र तिनका बीचमा सम्म भूभाग छन् । नदीनाला र खोलाले यो क्षेत्र सुशोभित छ । यहाँ रुद्रताल नामक ताल पनि रहेको छ । यस आरक्षको अधिकांश भाग जंगलले ढाकेको छ ।
यहाँ लेकाली वनको सदावहार हरियाली देख्न पाइन्छ । झ्याम्म परेका निगाँलो घारी जति हेरे पनि अघाइँदैन । ढोरपाटनको चुरेन पुठ्ठा हिउँचुली तथा धौलागिरी हिमालका उच्च हिमश्रृंखला, पूर्वपट्टी दारेखानी झाल्के र लामाक्याङका धुरीहरु, पश्चिमतर्फ खरीबाङ खोला, कुल्टा भञ्ज्याङ र जग्ला भञ्ज्याङ र दक्षिणमा सुर्तिबाङ र उत्तरगंगा पर्दछन् ।
यस क्षेत्रमा रहेका उत्तरपट्टीका हिमश्रृंखलाहरु प्रायः वर्षैभरि हिउँले ढाकिएका हुन्छन् । दक्षिण भेगका धुरी पनि मौसमी हिमाल हुन् । कम उचाइ भएकाले हिउँदको समयमा मात्र त्यहाँ बाक्लो हिउँ पर्छ ।
ढोरपाटनका क्षेत्रको धेरैजसो भाग उच्च घाँसे मैदान, भीर, पहरा, चुचुरा तथा हिउँले भरिएका छन् । यहाँका अनेकौं थुम्का र पाटन जाडोमा हिउँ एवं गर्मीमा रंगीविरंगी फूलले शोभायमान हुन्छ । यसरी ढोरपाटन प्रकृतिले सिंगारेको सुन्दर एवम् रमणीय ठाउँ मानिन्छ ।
ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र महत्वपूर्ण सांस्कृतिक पर्यटकीय एवं धार्मिक स्थलहरु पनि छन् । ढोरपाटन शिकार आरक्षको कार्यालयबाट एक किलोमिटरको दूरीमा देउराली नजिकैको उत्तरगंगाको पानी मुहानमा अवस्थित बाइसधारा तथा ढोरबराह थान त्यहाँको एक महत्वपूर्ण र प्रसिद्ध धार्मिक स्थल हो ।
यो ठाउँमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्छ । मेला भर्न तथा पूजा गर्न बागलुङ, रुकुम, म्याग्दी, रोल्पा तथा गुल्मी आदि जिल्लाहरुबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । सो अवसरमा सयौँको संख्यामा भेडाका पाठाका बली चढाउने र आफ्नो इच्छा लागेको बरदान माग्ने चलन छ ।
त्यहाँ रहेको बाइसधारामा शुद्धीकरण हुनाले आफ्ना पापहरु पखालिने जनविश्वास पनि छ । कतिपय भक्तजनहरुले आफन्तहरुको स्वर्गारोहण भएपछि उनिहरुको चिना तथा जन्म कुण्डली उत्तरगंगा नदीमा बगाउने गर्दछन् । यस बाहेक स्थानीयस्तरमा रहेको सल्लाथान (देवी) मैकोटको कोट, गुर्जाखानीको बराहथान, चिसापानी थान,भण्डारीगाउँको सिमबराह, निसेल्ढोरको गाउँपूजा जस्ता धार्मिकस्थलहरु रहेका छन्, जहाँ आ—आफ्पनो परम्पराअनुसार पुूजाआजा गरिन्छ । यसरी ढोरपाटन धर्म तथा संस्कृतिमा पनि विविधता भएको मानिन्छ ।
ढोरपाटन शिकार आरक्षण र यसको वरिपरि रहेको गाउँबस्तीमा मगर, विश्वकर्मा, छन्त्याल, बाहुन, क्षेत्री, थकाली, नौथर तथा तिब्बती शरणार्थीहरुको बसोबास छ । यस क्षेत्रको आरक्षभित्र ठूला गाउँबस्ती छैनन् । यद्यपि भएका केही स्थानीयबासीको मुख्य पेशा कृषि तथा पशुपालन नै हो । केही व्यक्तिहरु भोटतिर व्यापार गर्दछन् ।
हिमाली क्षेत्रको रुपमा रहेको यस ठाउँको धेरैजसो भाग पाटन, खर्क, वन, जङ्गल, हिमश्रृंखला र चट्टानले ढाकेकाले कृषियोग्य भूमि कम छ । यस ठाउँको मुख्य उत्पादन आलु, स्याउँ, मकै, फापर तथा जौं हो । कृषियोग्य भूमि कम रहेकोले यहाँका स्थानीय बासिन्दाले आफ्ना गाईवस्तु चरीचरणको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
कलाकौशलतामा पनि भरिपूर्ण रहेको यस क्षेत्रका मानिसहरुले भेडाको ऊनबाट राडी–पाखी, कम्बल, गलैँचालगायत लत्ताकपडा उत्पादनसँगै व्यापार गर्छन् ।
ढोरपारपाटन उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेकाले यहाँ खोटेसल्ला, गोबे्रसल्ला, ठिंगुरेसल्ला, धुपी, भोजपत्र, कांडेदार खस्रु र गुराँसका विभिन्न जातका वनस्पति पाइन्छन् । यहाँ यार्सागुम्बा, पाँचऔँले, जटामसी, चिराइतो विषमा पदमचाल, टिमुरलगायतका अन्य विभिन्न जातका जडीबुटीहरु पाइन्छन् । यस क्षेत्रमा पाइने प्रमुख जनावर नाउर, झारल, थार, कस्तुरी मृर्ग, हाब्रे, हिउँचितुवा, हिमाली भालु, बाँदर, लंगुर, स्याल तथा बँदेल आदि हुन । यहाँ ३२ प्रजातिका स्तनधारी जनावरहरु पाइन्छन् । दुर्लभ एवं संरक्षित पंक्षीको सूचिमा परेका डाँफे, मुनाल, चिरलगायतका १ सय ६४ प्रजातिका चराहरु पाइन्छन् । अन्य पक्षीहरुमा हिउँ कुखुरा, कोकलास, गिद्ध, फिन्चलगायतका चराहरु अवलोकन गर्न सकिन्छ ।
ढोरपाटन शिकार आरक्षणमा स्थापना कालदेखि नै प्राकृतिक सम्पदा, वन–जंगल र वन्यजन्तुको संरक्षण गर्दै नाउर, झारल, कस्तुरी मृग जस्ता वन्यजन्तुको व्यवस्थित शिकार गरिँदै आइएको छ । यसले ढोरपाटनमात्रै नभई समग्र देशकै पर्यापर्यटनमा जोड पुगेको मान्न सकिन्छ । यसबाट देशलाई पनि उल्लेख्य राजश्व संकलन हुँदै आएको छ ।
यहाँ शिकार गर्नका लागि सुर्तीबाङ, फागुने, घुस्तुङ, दोगाडी, सेङ् , बर्से र सुनदह गरी जम्मा ७ वटा ब्लकहरु छुट्याइएको छ । जसमा छुट्टाछुट्टै ब्लकमा नाउर तथा झारलजस्ता अन्य वन्यजन्तुको शिकार गर्न कोटा छुट्याइएको हुन्छ । यहाँ पर्यटकहरुलाइ शिकार गर्न २१ दिनको समय दिइन्छ । जसले गर्दा यस क्षेत्रमा रहेको वन तथा वन्यजन्तुको संरक्षण हुन्छ ।
ढोरपाटनको पूर्वी सीमानामा रहेको जलजला भन्ने स्थान क्याम्पिङको लागि रमणीय स्थल मानिन्छ । यहाँबाट यस क्षेत्रमा रहेका अनुपम दृष्यहरु अवलोकन गर्न सकिन्छ । वनस्पति तथा वन्यजन्तुको अध्ययन अनुसन्धान तथा अवलोकन गर्नेहरुका लागि पनि यो क्षेत्र आकर्षक पर्यटकीय स्थल हुन सक्छ ।
पर्यटनका लागि आवश्यक पर्ने विकासका पूर्वाधारहरुमा व्यवहारिक शिक्षा तथा स्वास्थ्यको पहुँच वृद्धि गरि त्यहाका स्थानीयहरुलाई सुसुचित गराई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने सवल र सक्षम नागरिक बनाउनुका साथै सालझण्डी ढोरपाटन सडक पूर्णरुपमा कालोपत्रे गर्ने, ढोरपाटनमा रहेको एयरपोर्टको तत्कालै स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको एरपोर्टको रुपमा विकास गर्ने, उत्तरगंगा जलाशययुक्त आयोजनाको काम तत्काल अघि बढाउनुका साथै सूचना तथा सञ्चारका साधनको पहुँच वृद्धि गरि ढोरपाटनको प्रचारप्रसारमा ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
पर्यटनकालागि पायक पर्ने ठाउँहरुमा होटल, लज तथा चिया पसलहरुको व्यवस्थापन गर्नुपर्दछ । स्थानीय होटल, लज, चिया पसल सञ्चालन गर्ने व्यक्तिहरुलाई आवश्यक तालिम दिनु पर्दछ । यहाँ रहेका ऐतिहासिक वस्तुहरुको झलक देखाउने गरी विभिन्न मूर्ति तथा स्तुपहरु बनाउनुका साथै स्थानीय जनसमुदायमा रहेका मौलिक संस्कृति झल्काउने मौलिक नाच तथा भाकाको जगेर्ना गर्न सकेको खण्डमा ढोरपाटन घुम्न आउने पर्यटकको संख्या वृद्धि हुनेछ । पर्यटनका माध्यमबाट बेरोजगारी समस्यालाई समाधान गर्दै लाखौंलाई रोजगारसमेत दिन सकिन्छ ।
यस क्षेत्रको पर्यटन व्यवसायलाई अझै आकर्षित गर्न नेपाल सरकारले निश्चित नीति नियम तथा कानुन तय गरिनुपर्छ । पर्यटकहरुलाई दुख दिने सताउने तथा ठग्ने जस्ता कार्यमा रोक लगाउनुपर्छ । वातावरणीय प्रदुषण बढ्न दिनु हँुदैन । वन जंगल फडानी, काठ, दाउराको अवैध निकासी, वन्यजन्तुको र जडिबुटीको चोरी तथा शिकारीमा प्रतिबन्ध लगाउनु पर्छ ।

–ढोरपाटन नगरपालिका–५, अधिकारीचौर प्याङखोला

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->