बेनी, २ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा पेश हुने अविश्वास प्रस्तावमा जसरी पनि साथ दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा भुपेन्द्रबहादुर खड्काको छैटौं दिनको पुण्यतिथिको अवसरमा आइतबार गरेको कार्यक्रममा उनले ओलीको समर्थन गर्नु लोकतन्त्र विरोधी कदम भएको धारणा राखे ।
‘लोकतन्त्र र संविधानको रक्षका लागि केपी शर्मा ओलीको सरकारलाई कुनै पनि हालतमा हटाउनुपर्छ,’ पौडेलले भने, ‘संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र विरोधीलाई समर्थन गर्नु हो । संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्छ ।’ उनले ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बहिगर्मन अपरिहार्य भएको बताए ।
नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन । निर्वाचन हुने अवस्था आए पनि अहिलेको सरकारले गर्न सक्दैन्, गरेपनि ठूलो दुर्घटना हुन्छ,’ उनले भने ।
तत्कालीन नेकपाभित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाइ छ । उनले कांग्रेस प्रतिपक्षमा बसे पनि अहिलेको सरकारलाई लामो समयसम्म टिक्न दिन नहुने बताए ।
नेता पौडेलले कम्युनिस्ट कांग्रेसको स्थायी साथी नभए पनि ओली झनै ठूलो बाधक रहेकाले उनको विरोध गर्नुपर्ने सुनाए । ‘माओवादी जनयुद्ध कालमा कांग्रेसका लागि प्रचण्ड र अहिले केपी ओली खतराको पात्र हुन् । कम्युनिस्ट स्थायी मित्र नभए पनि अहिलेको अवस्थामा केपी ओली प्रमुख बाधक हुन्,’ उनले भने ।
नेता पौडेलले नेकपाको विवादमा सर्वोच्च अदालतले मागदाबीभन्दा माथि गएर नेताको शैलीमा फैसला गरेको बताए । ‘मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो,’ उनले भने ।
‘ओलीविरुद्ध बोल्न नसक्ने देउवाको स्वार्थ छ’
नेता पौडेलले ओलीविरुद्ध बोल्न नसक्ने नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको स्वार्थ लुकेको हुन सक्ने बताए । उनले जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्ने समेत सभापति देउवालाई अनुरोध गरे ।
बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गत मंगलबार ८० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म २ कार्यकाल जिल्ला कार्य समितिको सभापति बनेका थिए ।





