बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने

बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १० २०७७, मंगलबार

बागलुङ, १० चैत– गत बर्षात्को बाढी र पहिरोले क्षति पुगेका बागलुङका ९ वटा झोलुंगे पुल निर्माण गर्न डिपिआर निर्माण भएको छ ।
ती पुलको लागत स्टिमेट समेत भैसकेकोले गृह मन्त्रालयको राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले संघिय मामिला मन्त्रालयमा बजेट बिनियोजनका लागि समेत पत्राचार गरेको छ । प्राधिकरणका शाखा अधिकृत भीमराज बस्नेतले आवस्यकता अनुसारका पुल बनाउन बजेट माग गरिएको बताए ।
जिल्ला बिपत् व्यवस्थापन समितिको निर्णय र बागलुङ जिल्ला प्रशासनले गत माघ २ गते पठाएको पत्र अनुसार ती पुल निर्माणका लागि गृहले माग गरेको हो । ती पुल अभावमा स्थानीयले सास्ती खेपेका छन् । ठूलो बाढी र पहिरो आएपछि बगेका वा क्षतबिक्षत भएका पुल निर्माण नहुँदा स्थानीयले घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता छ । कतिपय स्थानमा आउजाउ ठप्प जस्तै भएका छन् ।
सिफारिसमा परेकामध्ये ढोरपाटन नगरपालिका ३ फर्साहघाटमा २ सय ४३ मीटर लामो पुल बनाउनु पर्ने देखिएको हो । उक्त पुलका लागि २० लाख १९ हजार लागत स्टिमेट पठाइएको छ । त्यस्तै वडा नं. ८ को नौघरटोलमा १ सय ४६ मीटर लामो पुलका लागि १० लाख ३३ हजार, तमानखोला ४ को ठूलोखोला दमाइखर्क जोड्न १ सय २२ मीटर पुल निर्माण गर्न ७१ लाख ५२ हजार स्टिमेटसहितको माग भएको हो ।
तमानखोलाकै वडा न.. ६ स्थित नर्जाखोलामा २ सय ८७ मीटर लामो पुल बनाउन ३ करोड १६ लाख लाख ७३ हजार, ढोरपाटन ५ भैसीखर्कमा २ सय १८ मीटर पुलका लागि १ करोड ९७ लाख, निसीखोला १ को हर्पेमा ३ सय ५९ मीटर लामो पुलका लागि ४ करोड ९० लाख ५९ हजार, निसीकै कान्लेचौरमा २ सय २४ मीटर लामो पुलका लागि २ करोड १४ लाख माग भएको हो ।
त्यस्तै बडिगाड १० को निगलपानीदेखि दर्लीङ माबिसम्मको ३ सय ११ मीटर लामो पुल बनाउन ४ करोड २ लाख २४ हजार रुपैयाँ स्टिमेट गरिएको छ । बाढी र पहिरोले अघिल्ला वर्षदेखिनै क्षति पुगेको बुर्तिवाङ बजार संरक्षणका लागि ८२ लाख ३५ हजार रुपैयाँ माग भएको छ ।
सबै रकमको संघिय वा प्रदेश सरकारबाट व्यवस्थापन गर्न गृहले गण्डकी प्रदेशलाई बोधार्थ पठाएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । ‘पश्चिम क्षेत्रको सास्तीलाई सूचिकृत गरेर पुन निर्माण गर्न पहल भएको थियो, गृह मन्त्रालयको प्राधिकरणले बजेटसहित सिफारिस गरेको छ’ कुँवरले भने, ‘तत्काल यी पुल र बजार व्यवस्थापन गर्न सकियो भने थप जोखिमबाट बच्न सकिन्छ ।’
गत बर्षात्मा ढोरपाटन नगरपालिका–९ मा गएको पहिरोले यहाँका झण्डै १ सय २६ घर बिस्थापित भएका थिए । अहिलेसम्म पनि उनीहरु समेत सुरक्षित स्थानमा बस्न पाएका छैनन् । त्यसका लागि भने राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत घर निर्माण गर्ने योजना छ । तर लामो समयसम्म बजेट निकासा र कार्यक्रम नआएको भन्दै ढोरपाटन नगरपालिकाले आफ्नो खातामा रहेको बजेट खर्चन नसकेको नगरप्रमुख देवकुमार नेपालीले बताए । नगरपालिकाको खातामा अहिले पनि २ करोड ५० लाख रहेको छ । उक्त रकम खर्च नभएपछि पीडितहरु छाप्रोमा बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->