तनहुँ, ११ चैत– गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताएकी छिन् । ‘मैले यसो भन्दा त आफैँ मन्त्री छस, दोस्रो दर्जा भन्छेस् भन्नुहोला । मन्त्री हुदाँ पनि सात जनामा एक जना मात्रै छु नि त’, उनले भनिन् ।
महिला शिक्षाको क्षेत्रमा अगाडी जान नसक्दासम्म अरुको अरौटे भरौटे हुनुपर्ने उनको भनाई छ । बुधबार म्याग्दे गाउँपालिका–४ छाङ्गमा कालिका मोई समुहको सामुदायिक भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले छोरीलाई शिक्षित बनाउनुपर्नेमा जोड दिईन् ।
महिला आयआर्जनमा कमै संग्लन हुने गरेको उनले उल्लेख गरिन् । उनले अगाडी भनिन्, ‘श्रीमानको कमाईमा हामी चल्नुप¥या छ । श्रीमान्को खल्तीमा पैसा हुनु र आफ्नै खल्तीमा पैसा हुनु फरक कुरा हो ।’ महिला उद्यमी बन्नुपर्नेमा उनको जोड छ ।
आमा समुहको भवन बनेपछि तालिम केन्द्रका रुपमा सदुपयोग गर्नुपर्ने उनको धारणा छ । हजारौँ नागरिकलाई सिप सिकाएर उद्यमी बनाउन आमा समुहले पहल गर्नुपर्नेमा उनको जोड थियो । स्वदेशी उत्पादनलाई विदेश निर्यात नभएसम्म मुलुक सम्बृद्ध नबन्ने उनको जिकिर छ ।
संघियता कार्यन्वयनको चरणमा भएकाले तीन तहका सरकारको लय मिल्न नसकेको मन्त्री पुनको टिप्पणी छ ।





