बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बेसहारा उज्ज्वलको अँध्यारो भविष्य !

बेसहारा उज्ज्वलको अँध्यारो भविष्य !


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १८ २०७७, बुधबार

बागलुङ, १८ चैत– काठेखोला गाउँपालिका ७ रेश तिङरिङका उज्ज्वल थापा १० वर्षका भए । रेशको नुन्थलामा दिनभर डुलेर साँझ परेपछि आसपासका गाउँहरुमा चहार्ने उनको अभिभावक कोही छैन । १० वर्षका उज्वल अहिले मागेर जीवन धानिरहेका छन् ।
दिनभर रेश नुन्थला मावि आसपासका पसलमा डुल्ने उज्वलको साँझ परेपछि रात काट्ने ठाउँ नै छैन । जसको घर भेट्छन्, त्यही शरण लिन्छन् । ३ वर्ष पहिलासम्म भरिभराउ उनको परिवार एकाएक उजाडिएपछि उज्वल अभिभावकविहीन बनेका हुन् । ‘बस्ने थाहा छैन्, दिए खान्छु,’ नुन्थलाको कस्मेटिक पसलमा भेटिएका उनले भने, ‘दिदी बागलुङ बस्छे अरु कोही छैन ।’
थापाको जन्म भएको केही महिनामै बाबु लालबहादुर थापाको मृत्यु भयो । उनीभन्दा पहिला एक दाजु र दिदी थिए । परिवारको मियो डलेपछि उज्ज्वलको परिवारमा बज्र प¥यो । बाबुको मृत्यु हुँदा ११ वर्ष पुगेका दाजु उत्सव र आमा मिलेर घर चलाइरहेका थिए । ३ वर्ष पहिला दाजु उत्सवको पर्वतमा भएको ट्याक्टर दुर्घटनापछि उनी थप एक्लिएका हुन् ।
‘दाजुको मृत्यु भएपछि आमाले छोडेर हिँडिन,’ उनको परिवारबारे जानकारी राख्ने रेशकी स्थानीय रचना थापाले भनिन्, ‘घर पनि रहेनछ, कहिले हाम्रोमा बस्छ, कहिले गाउँमा जान्छ, न त बस्नेको ठेगान न खानेको ।’ दाजुको मृत्युपछि आमाले अर्कैसँग बिहे गरिन् । आमाले छोडेपछि उनकी ११ वर्षीया दिदी र उनी एक्लिए । परिवारबाट एक्लिएर सडकमा आएकी दिदीलाई सामाजिक अभियान्ता मनिष रायमाझीले बागलुङ बजारको सडकमा भेटेका थिए । उनैले मानव सेवा आश्रममा पु¥याएपछि उनकी दिदी उषा थापा अहिले मानव सेवा आश्रम बागलुङमा बस्छिन् ।
उत्सव रेश नुन्थला माविमा पढ्थे । कहिले सडकमा त कहिले गाउँले घरमा शरण लिएर बस्ने उज्ज्वल पछिल्लो समय विद्यालयसमेत जानै छोडेका छन् । ‘विद्यालय जानै मान्दैन, आमाले बिहे गरेको ठाउँमा जान्छ तर बस्न दिदैनन् भन्छ,’ थापाले भनिन्, ‘यसको आफ्नो भन्ने कोही रहेनन् ।’
आफन्तले वेवास्ता गर्ने गरेको उज्वल आफंै सुनाउँछन् । खाना र बासको खोजी गरेर आमा रहेको ठाउँमा पुग्दा कुटपिट गर्ने गरेको उनले सुनाए । आफैं आफ्नो सरसफाइ गर्न उनी सक्दैनन् । फोहोर कपडा लगाएको देख्ने साथीहरुले गिज्याउँदा विद्यालय जान मन नलागेको उनले सुनाए ।
एक्लिएका उज्ज्वलका आफन्तलाई राखेर पटक पटक संरक्षण गर्न आग्रह गरिएको भएपनि आफन्तहरु जिम्मेवार नबनेको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । ‘आमाले दोस्रो बिहे गरेको श्रीमानसमेत आफन्तै पर्ने भएकाले परिवारको जिम्मेवारी बोध गर्न भनेका थियौं,’ लामिछाने भन्छन् ‘मदिरामा लठ्ठिएपछि उसलाई घरबाट निकाल्दो रहेछन् ।’ उज्वललाई अभिभावकत्व दिलाउन मानव सेवा आश्रमसँग कुरा भइरहेको उनले बताए ।
यता मानवसेवा आश्रमले भने वडा कार्यालयले सिफारिस गरेर पठाएपछि मात्रै उज्वललाई आश्रममा राख्न सकिने आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् । आश्रममा बालबालिकालाई राख्ने कक्षको समस्या रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->