बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बल्देधुरी घटनाको अनुसन्धान जारी, परिवारले शव बुझे

बल्देधुरी घटनाको अनुसन्धान जारी, परिवारले शव बुझे


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७७, बुधबार

बागलुङ, १८ चैत– बल्देधुरी घटनामा दोषी भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाहेक अझै दोषीको खोजी भैरहेकोले पक्राउ परेका मानिस भने सार्वजनिक गरिएको छैन ।
चार दिनपछि बल्देधुरी घटनाका पीडितले दोषी पक्राउको क्रम सुरु भएको भन्दै मृतकको शव पनि बुझेका छन् । घटनाका दोषी पक्राउ नगरेसम्म शव नबुझ्ने अडान लिएका पीडितले बुधवार दिउँसो शव बुझेको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए । शव बुझ्न मृतकका श्रीमतीहरु प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पुगेका थिए । मृतकको पोष्टमार्टमपछि शव बुर्तिवाङमै थियो ।
आइतबार दिउँसो होली खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको थियो । झडपको क्रममा निसीखोला गाउँपालिका वडा नं. ७ का प्रकाश कुँवर र दिपक परियारलाई भीरबाट खसाल्दा मृत्यु भएको थियो । भीरबाट खसाल्नेको पहिचान गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकामध्ये २ जना गुल्मीतर्फबाट र ४ जना बागलुङतर्फबाट समात्न सकिएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।
स्थानीयका अनुसार, उक्त घटनामा अन्य ६ जना घाइते भएका थिए । तीमध्ये अधिकांस उपचारपछि घर फर्केका छन् । एकजना मात्रै गम्भिर घाइतेको उपचार भैरहेको छ । घटनास्थलदेखि ४ सय मीटर तल भीरमा मृतकको शव भेटिएको थियो । मृतक कुँवर कांग्रेसका जिल्ला सदस्य र परियार सक्रिय कार्यकर्ता हुन् ।
प्रहरी उपरिक्षक पल्लीमगरको नेतृत्व टोलीले संलग्नको पहिचान गरिरहेको समेत जनाएको छ । ‘अझैपनि अनुसन्धान सकिएको छैन, केही थप मानिस पक्राउ पर्न पनि सक्ने भएकोले नाम सार्वजनिक गरिएको छैन’ उनले भने, ‘जटिल घटना भएकोले अनुसन्धान अझै बढाउनुपर्ने छ ।’ सही सूचना दिने काममा भने प्रहरीले साथ दिने उनले बताए । होलीको दिन रंग लगाउने क्रममा दुइ पक्षको झडप भएको थियो । घटनास्थल मानवबस्तीदेखि २ घण्टा टाढा तथा बागलुङ, गुल्मी र प्युठानको सिमानामा छ ।
बुधबारै मृतकको शव यात्रा र सतगत गरिएको छ । बुर्तिवाङमा भेला भएका पीडितका आफन्त, पार्टीका कार्यकर्ता र स्थानीय समेतले दर्लिङखोलामा लगेर मृतकको दाहसंस्कार गरेका हुन् । घटनापछि प्रहरीले गाउँमा पनि सुरक्षा व्यवस्था मजबुत बनाएको छ । शव यात्रामा पनि सुरक्षा व्यवस्था मिलाइएको थियो ।
बल्देधुरीमा हरेक बर्ष होली लगायतका मेलापर्व लाग्ने गरेको छ । यो सिमानामा रहेकोले सामान्य झगडा भने सधै हुने गरेको स्थानीयले बताए । यो घटना भने दुःखद भएको स्थानीय जनप्रतिनिधिले बताए । भीरबाटै खसाल्ने सम्मको घटनालाई पीडित पक्षले भने नियोजित भएको आरोप लगाएका छन् । घटनाको निश्पक्ष छानविन गर्न पनि माग गरेका छन् । दोषी पक्राउ नगरेसम्म सोमबार र मंगलबार बुर्तिवाङमा पीडित पक्षको धर्ना तथा दबाव दिने क्रम चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->