बागलुङ, २० चैत– ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बागलुङमा अभिमुखीकरण कार्यक्रम भएको छ । बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला सहकारी संघ बागलुङको समन्वयमा अभिमुखीकरण कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सहकारीले रोजगारी सिर्जना, स्रोत र साधनको अधिकतम प्रयोग र बिचौलियाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए । कृषकले उत्पादन लागत अनुसार मूल्य नपाउने तर बिचौलियाले बिना दुख मोटो रकम कमाउने प्रथाको अन्त्य गर्न विषयगत सहकारीले अभियान चलाउनु जरुरी रहेको उनको भनाइ छ ।
राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान न्यून अवस्थामा देखिएको भन्दै नगरप्रमुख पौडेलले ३ खम्बे अर्थ नीतिमा सहकारीको भूमिका के हो भन्नेबारे प्रश्न उठेको बताए । नगरपालिकाले समयमै सहकारी ऐन जारी गरे पनि विभिन्न कारणले कार्यान्वयनमा आउन नसकेको बताए । ‘कर्मचारी व्यवस्थापन, फेरबदल लगायतका कारणले ऐन कार्यान्वनमा ढिला भएको नगरप्रमुख,’ उनले भने । लक्ष्य अनुरूप सहकारीहरु सञ्चालन हुनुपर्नेमा जोड दिँदै नगरपालिकाले आवश्यक सहयोग, छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का दुर्गाप्रसाद ढकालले सहकारी क्षेत्रका विभिन्न पक्षबारे सहजीकरण गरेका थिए । सहकारीका मूल्य मान्यता, जोखिम, तीन तहका सरकारले जारी गरेका ऐन, प्रविधिको प्रयोग लगायत विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो ।





