
नवलपुर, २० चैत– गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको हात्तीमा सवार एक टोलीलाई जंगली हात्तीले लखेट्दा ४ जना घाईते भएका छन् । पश्चिम सेक्टर अन्तर्गत पर्ने नवलपुरतर्फबाट गैंडा गणना गर्न गएको टोलीमध्येको एउटा हात्तीलाई जंगली हात्तीले लखेट्दा गणक सवार हात्तीलाई सुरक्षित स्थानतर्फ लैजान भगाउँदा हात्तीबाट लडेर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यबिन्दु नगरपालिका वडा नं. २ को गैंडाखाल भन्ने ठाउँमा घटना भएको हो । घाईते ४ जनामध्ये १ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत काठमाण्डौ पठाईएको नन्द भाउजु मध्यवर्ती समितिका ब्यवस्थापक थमनारायण शर्माले बताए ।
गम्भीर घाईते हुनेमा चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा स्थायी ठेगाना भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ बर्षका बिनोद श्रेष्ठ रहेका छन् । घटनापछि आजको गैंडा गणना कार्य प्रभावित भएको छ । आजलाई गणना स्थगित गरि घाईतेको उद्धार गरि मध्यबिन्दु जिल्ला अस्पताल पुर्याईकोे ब्यवस्थापक शर्माले बताए । अन्य ३ जनामध्ये पाला मर्दनिया डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मध्यम अवस्थाका घाईते सर्लाहीका दिपेन्द्र चौधरी र सामान्य अवस्थाका घाईते रौतहटका प्रेमलाल कहार चौधरीको मध्यबिन्दु जिल्ला अस्पतालमा भर्ना गरेर उपचार थालिएको छ ।
नन्द भाउजु मध्यवर्ती समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जंगली हात्तीले अर्को हात्तीलाई लखेट्न थालेपछि उदण्डता मच्चाउन सक्ने सम्भावना बढी हुने भएकाले सतर्क रहन आग्रह गरेका छन् । जंगली हात्ती बस्तीतर्फ पस्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई रातीको समयमा अझ उच्च सतर्कता अपनाउन र अनावश्यक रुपमा हिडडुल नगर्न र बाहिर ननिस्कन भनेका छन् ।
४० हात्ती सहित १६० जना गणक निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गत नवलपुरमा र चितवनको पर्सामा गैडा गणना कार्यमा खटिएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा गैंडा गणना शुरु भएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखेर गणनाका लागि सोमबार बिहानदेखि प्राविधिकसहितको टोली हात्तीमा परिचालित भएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । दुई वर्षअघि गैँडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भरपर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।
सरकारले गत वर्ष गैँडा गणनाका लागि एक करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ । दाताबाट २५ लाख हाराहारी सहयोग हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) , विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका संघ संस्थाको सहयोगमा गैंडा गणना शुरु गरिएको हो ।
हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैंडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ ।





