पोखरा, २१ चैत– मोफसलमै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहारारा गोल्डकपमो १९ औं संस्करण शनिबारबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् ।
अघिल्ला संस्करणमा १२ टिम सहभागी हुने भएपनि यस वर्ष कोरोना भाइरसका कारण ८ टिममात्रै सहभागी हुन लागेका हुन् । प्रतियोगितामा आयोजकसहित ए डिभिजन टिम तथा एक विदेशी टिमको समेत सहभागिता रहनेछ ।
प्रतियोगितामा सहारा क्लब पोखरासहित डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब, एपिएफ क्लब, मछिन्द्र क्लब, संकटा क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब र विदेशी टोली डाउला क्यामरुनको सहभागी हुँदैछन् ।
प्रतियोगिताको १८ औं संस्करणको अन्त्यसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । यस वर्ष लकडाउन खुले पनि कोरोनाको दोस्रो लहर चर्चाबीच आहारारा गोल्डकप प्रतियोगिता हुँदैछ ।
गृह, स्वास्थ्य मन्त्रालयले कोरोनाको दोस्रो लहरको चेतावनी दिँदै भिडभाडजन्य क्रियाकलापन नगर्न सूचना जारी गरिरहँदा प्रतियोगितालाई अघिल्ला संस्करणझै ‘रोमाञ्चक’ गराउन आयोजकलाई चुनौती नै छ । तर, आयोजक पक्ष भने पूर्ण रुपमा स्वाथ्य मापदण्ड पालना गरेरै प्रतियोगिता गर्ने सोचमा छ ।
‘सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्डहरु लागू गरेरै प्रतियोगितालाई भव्य रुपमा गर्ने हाम्रो योजना हो,’ प्रतियोगिताबारे जानकारी दिने उद्धेश्यले आयोजित पत्रकारसम्मेलनमा क्लब अध्यक्ष केशव थापाले भने ।
पुनर्निर्मित पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ भिड्दैछन् । चैत २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
त्रिभुवन आर्मी सहभागी भएन
एएफसी कप २०२१ को तयारीमा रहेको त्रिभुवन आर्मी क्लबले भने यो पटक प्रतियोगितामा सहभागिता जनाएको छैन । एएफसी अन्तर्गत दक्षिण एसिया प्रारम्भिक छनोटको प्लेअफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोर्टस क्लबसंग २५ गते सामना गर्नेछ ।
उक्त खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । यस्तै आर्मीले सो खेलको टिकट शुल्क समेत तोकेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी टिकट दर कायम गरेको हो । साधारण तर्फ ३ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । खेल दिउँसो ३ बजे हुनेछ । एएफसी तयारीमा रहेका आर्मीका सम्पूर्ण खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । मोफसलका अन्य प्रतियोगितामा आर्मीले आफ्नो दोस्रो टोलीलाई पठाए पनि आहा ! रारा गोल्ड कपमा भने पठाएको छैन ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट २३ खेलाडी अन्तिम छनोटमा पर्नेछन् । राष्ट्रिय टोलीमा रहेका गोलरक्षक विकेश कुथु र फरवार्ड भरत खवास टोलीमा रहेका छन् । एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाको प्लेअफ छनोटमा विजेता बन्ने टोली एएफसी कपको समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसलाई हराए दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ ।
समूह डीमा दक्षिण एसियाका ४ टोली समावेश हुनेछन् । प्लेअफबाट १ टोली छनोट हुँदा तीन टोलीको स्थान भने पक्का भइसकेको छ । भारतबाट एटिके मोहुन बगान, बंगलादेशको बसुन्धारा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्स घरेलु लिगको स्थानका आधारमा समूहमा स्थान बनाउन सफल भएका हुन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि लिग च्याम्पियन मछिन्द्रको स्थानमा एएफसी कप खेल्ने अवसर पाएको हो ।





