बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिहुँमा ‘बलीप्रथा मुक्त वडा’ बनाउने अभियान

बिहुँमा ‘बलीप्रथा मुक्त वडा’ बनाउने अभियान


  • ढोरपाटन सम्वाददाता
  • चैत्र २२ २०७७, आइतबार

बागलुङ, २२ चैत– ‘सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबली लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा मत एकछिन बिताउन सकिन्, भागेर घर आएँ ।’ बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भने ‘कोटमा हुने पुजामा गाउँभरीकाले बली चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।’
कँडेलको जानकारी भएअनुसार बिहुँकोटमा बली चढ्न थालेको दुई सय वर्ष भयो । बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बली चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बली चढ्दैन् । ‘पहिला यस्तो थिएन् रे, पछि बली प्रथाको सुरुवात भयो, दुवै कोटमा बली चढाउनै पर्ने नियम बनाएका भन्ने सुनेका छौं’ बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भने ‘अहिलेसम्म पनि मंगलबार र बिहिबार बली चढाउन आउनेहरु धेरै हुन्छन् ।’
शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन् । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरु बेहोस नै हुनुपरोस् ।
पशुबली दिएर मानिसको महत्वकांक्षा पुरा हुने अन्धविस्वास तोड्न अहिले बिहुँमा ‘बलीप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबली नचढाउन वडा कार्यालयले निषेध गरेको छ । स्थानीयलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबली नचढाउन आग्रह गरेको छ ।
‘पशुबली चढाएर कसैले मागेको पुग्दैन, यो अमानविय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौं’ वडा अध्यक्ष युक्त प्रसाद कँडेलले भने ‘सार्वजनिक सूचना गरेर जानकारी गराईएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।’ स्थानीय बुद्धिजिवी, समाजसेवी र ५ नं. वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलीप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताए ।
‘मासु खाने वा नखाने व्यक्तिगत रुची र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बली चढाएर रगतको खोला बगाउनु राम्रो होईन्’ उनले भने ‘हामीले दिएको बलीले भगवान खुसी हुँदैनन्, यो त हिंसा पो हो त ।’ चाडपर्वका समयमा कोटघरहरुमा दिईने बलीले हिन्दु सभ्यतालाई नै गिज्याईरहेको कँडेल बताउँछन् ।
‘सञ्चारमाध्यामबाट पनि सूचना गर्दै छौं, चेतनाको अभावमा भैरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ’ कँडेलले भने ‘हामी पशुबली मुक्त वडाको नागरिक भएर बाच्ने छौं ।’ धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उनको भनाई छ ।
वडाले गरेको निर्णयमा स्थानीय खुसी छन् । ‘धर्म नै छोड भनेको होईन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु’ पूर्व शिक्षक शिवलाल भन्छन् ‘यसले हाम्रो धर्म संरक्षणमा थप सहयोग गर्छ ।’ धार्मिक सम्पदाको संरक्षण र प्रचार प्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->