बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुखौरामा शितभण्डार, किसानमा उत्साह

सुखौरामा शितभण्डार, किसानमा उत्साह


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७७, सोमबार

बागलुङ, २३ चैत– गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायशी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने, बेसिजनमा बिक्री गर्न आलु जोगाउनै किसानलाई कठीन छ ।
व्यावसायिक रुपमा आलुको खेती गरेर पनि आम्दानीसँग जोडिन नसकेका बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका किसानले अब भने सुखको सास फेर्ने छन् । सुखौरामा कृषि उपज भण्डारणको लागि सित भण्डार निर्माण भएपछि किसानहरु उत्साहित भएका छन् ।
सुखौरा गाउँपालिकाले आलुको पकेट क्षेत्रका रुपमा विकास गरेको क्षेत्र हो । यहाँ फलेको आलु स्वादिलो भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ शीतभण्डार निर्माण भएसँगै यहाँका किसानले उत्पादन गरेको आलु बाह्रै महिना बिक्रीका लागि तयार रहने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको पहल र गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ लागतमा शितभण्डार निर्माण गरिएसँगै किसानहरुमा आम्दानीको आशा पलाएको हो । ‘अब हामीले बेसिजनमा मुल्य पारेर आलु बेच्न सक्छौं’, स्थानीय किसान मोहन थापाले भने, ‘शीतभण्डारले किसानलाइ साथ दिनेछ ।’ आफुहरुले उब्जाउ गरेको कृषि उपज सुरक्षित राख्न सकिने भन्दै थापाले खुशी व्यक्त गरे । शितभण्डार निर्माण भएसँगै आफूहरुले उत्पादन गरेको आलु समयमै बेच्न नसकेको खण्डमा कुहिएर जाने डर नरहेको बताए । उनले शीतभण्डारका कारण उत्पादित आलुलाई बेसिजनमा बेचेर दुई गुणा बढि फाइदा गर्न सकिने बताए ।
सुखौरा भित्रिवन आलु पकेट क्षेत्रमा शितभण्डार निर्माण भएको हो । यहाँका २ सय २४ घरधुरीले फलाएको आलु शीतभण्डारमा राख्न सकिने छ । सुखौरामा हरेक परिवारले ६ देखी २२ मुरीसम्म आलु उत्पादन गर्ने गरेको तथ्यांक गाउँपालिकासँग छ । आलुको बिक्रीबाट मात्रै १० देखि २० लाख रुपैयाँ गाउँ भित्रिने गरेको छ । शीतभण्डार प्रयोगमा आएपछि यो अंक दोब्बर हुने किसानहरु बताउँछन् ।
आलु पकेट क्षेत्र घोषणा गरिएसँगै त्यहाँका किसानले गहुँ र जौँ लगाउने जग्गामा समेत आलु नै लगाउन थालेका छन् । सरकारले आलु उत्पादनको लागि अनुदान दिन थालेसँगै किसानहरुले आलु उत्पादनलाई वृद्धि गरेका छन् । सुखौरामा फलेको आलु गुल्मीको शान्तिपुर, रुपन्देहीको बुटवल, बागलुङका साना बजारहरु र गाउँहरुमा समेत बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->