बागलुङ, २६ चैत– सूर्तिजन्य पदार्थको सेवनमा २० वर्ष मुनिका युवाहरुको सहभागिता बढेर गएको छ । स्कूल र कलेज तहका किशोर–किशोरीहरुलाई सूर्तिजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ ।
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा मंगलबार भएको सूर्तिजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागिले युवा र किशोर अवस्थामा सूर्तिजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताए । उनले सार्वजनिक स्थलमा चुरोट र सूर्तिजन्य वस्तु सेवन गर्नेलाई कारवाही गर्ने ऐन कार्यान्वयनमा जोड दिए ।
‘कारवाही गर्ने अधिकारीको रुपमा सिडिओलाई तोकेको छ, अब हामी कडाइका साथ अनुगमन पनि गर्छौ’, कार्कीले भने, ‘अब जता पायो त्यतै जो पायो त्यहीँं धुम्रपान गर्दा कारवाही भोग्नुपर्छ ।’ सरकारले २०६८ सालमै सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याएपनि प्रभावकारी कार्यान्वयन भएको छैन ।
विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवाहरु दुव्र्यसनमा फस्ने तथा लागूपदार्थ सेवनमा लाग्दा घरपरिवार राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउने जस्ता काम भैरहेको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले नेपालीहरु एक तिहाइले अहिले पनि धुम्रपान गरेको तथ्य बताए । साथै १७ वर्ष मुनिबाटै धुम्रपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाई गर्न नहुने बताए । अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो लतमा देखिएको बताइएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यबहादुर नेपालीले ऐन र नियमावलीबारे प्रस्तुतीकरण गरेका थिए । बागलुङ उद्योग वाणिज्य संघ, उपभोक्ता मंच लगायतलाई राखेर नियमन गर्न नपर्ने गरी हरेक सार्वजनिक स्थल, व्यापारिक स्थलमा सूर्तिजन्य वस्तुको सेवन रोक्ने अवस्था ल्याउन आग्रह गरिएको थियो ।
कार्यक्रममा सहायक प्रजिअ उपेन्द्रराज पौडेलले अनुगमन अधिकारीको रुपमा सार्वजनिक यातायात, सार्वजनिक सेवा प्रदायक क्षेत्र लगायतमा अनुगमन बढाउने र कारवाहीका लागि सिफारिस गर्ने जानकारी गराए । कार्यक्रम स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्ता वस्तुको सेवनले क्यान्सर, सुगर, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग र अन्य धेरै नसर्ने रोगहरु लाग्ने गरेको तथ्य समेत भेटिएको छ । विश्वमा अहिले पनि १ अर्ब मानिस सुर्तिजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटिल रोग बोकेर बसेको समेत गुरौले जानकारी गराए ।





