बागलुङ, २७ चैत– बडिगाड गाउँपालिका ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली श्रृंखला, गुल्मी, पाल्पा र प्युठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले कार्यक्रमसमेत राखेका हुन् ।
पर्यटक आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेपछि चालु वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकलाई आर्कषक गन्तव्य बनाउने योजना बनाईएको वडा अध्यक्ष कृष्णबहादुर गुरुङले बताए । यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट १ घण्टाको जिपको यात्रा गर्नुपर्छ ।
पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट २ देखि ३ घन्टामा पैदल यात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषण रहेको स्थानीय गण्डकी थापा अधिकारीले बताइन् ।
‘उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ,’ उनले भनिन्, ‘यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्राउन सकिन्छ ।’ पर्यटकको आर्कषण बनेको खण्डमा पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न सकिने उनले बताइन् ।
भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजंगल, डाँडाकाँडा, र मैदान भेटिन्छ । ‘पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं,’ स्थानीय पविता थापाले भनिन्, ‘मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।’ गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खानेहरु पुग्न थालेको उनले बताइन् ।
यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवस्यकता देखिएको स्थानीय लालबहादुर थापाले बताए । ‘कोही बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ,’ उनले भने, ‘गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना पनि थप्ने लक्ष छ ।’





