
बागलुङ, २७ चैत– पुनःनिर्माण प्राधिकरणको काम निजी आवास बनाउने हो । तर, बागलुङको एक सडकमा पनि लगानी गर्दा दुर्गम गाउँलाई सुगम बनाइदिएको छ ।
सदरमुकामदेखि ९० किलोमिटर पश्चिम बुर्तिवाङबाट दिनभरी पैदल यात्राबाट मात्र पुग्न सकिने तमानखोलाको बुंगादोभानलाई पुनःनिर्माण प्राधिकरणको लगानीले नजिक बनाएको हो ।
बुर्तिवाङदेखि बुंगादोभान जाने १५ किमी सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेपछि दुर्गम गाउँ सुगम बनेको हो । यो सडकका लागि प्राधिकरणले १५ करोेड ७९ लाख लगानी गरेको निमित्त आयोजना प्रमुख रेणुका पाण्डेले बताइन् । ‘ट्रयाक खोल्ने बेलामा भूकम्पले क्षति पुगेको तथा स्थानीय लगानीले सहज निर्माण संभव नभएपछि प्राधिकरणले यो सडक बनाएको हो’, उनले भनिन्, ।
पक्की नाली र कल्भर्ट निर्माण गरेर बनाइएकोले वर्षातमा पनि नियमित सवारी चल्न थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘यो सडक खण्डमा दुइवटा पुल पनि निर्माणाधिन छ, वर्षातमा पनि खोलाले रोकिनु पर्दैन’, बुढाले भने, ‘मध्यपहाडी लोकमार्ग जत्तिकै स्तरीय सडकमा तमानखोलाको केन्द्र पुग्न सकिन्छ ।’
यहाँकै लुकुरबन खोलामा २५ मिटर लामो र भालीवाङ खोलामा ४० मीटर लामो पक्की पुल निर्माण भैरहेको छ । आगामी जेठ मसान्तभित्रै सक्नेगरी पुल निर्माण भैरहेको बुढाले बताए । भालीवाङ खोलामा बन्ने पुल नयाँबाटो सूर्योदय संयुक्त निर्माण कम्पनीले ४ करोड ४२ लाख रुपैयाँमा निर्माण गरिरहेको हो । लुकुरबन खोलामा कर्णप्रदिप जुम्ली संयुक्त निर्माण कम्पनीले ३ करोड ६६ लाखमा निर्माण गरिरहेको हो ।
बुंगादोभानदेखि यहाँका ५ वटै वडा जोड्ने गरी सडक बनाइएका छन् । बुंगादोभानदेखि तमान, सोलेहुँदै म्याग्दी जोड्ने २५ किमी लामो रणनीतिक सडक निर्माण भएको छ । यो सडकले सोलेडाँडामा पर्यटक पु¥याउन सहज भएको वडा नं. ४ का अध्यक्ष उदिम छन्त्यालले बताए । ‘यो सडक बनेकोले बागलुङ सदरमुकामभन्दा बेनी बजार नजिक भएको छ’, उनले भने, ‘प्रशासनिक काम गर्नेहरु बागलुङ जान्छन्, अत्यावश्यक सामान खरिद गर्न चाहनेहरु बेनी झर्छन् ।’
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र पालिकाको ३ करोड लगानी गरेर बोङगादोभानदेखि सोलेसम्म सडक स्तरीय बनाइएको छ ।म्याग्दीको दरवाङदेखि ओखरबोटसम्म खनिएको सडकमा स्थानीयले चन्दाबाट ६० लाख जुटाएर केही वर्षअघिनै सडक जोडेका थिए । बुंगादोभानदेखि खुंखानी र नर्जातर्पm पनि २ करोड लागतमा सडक निर्माण भएको हो । सबैभन्दा माथिल्लो नर्जामा सडक पुगेपछि गर्भवति, बूढापाकालाई सहज भएको स्थानीय गरिमा हर्मेलले बताइन् ।
तमानखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष कुलबहादुर छन्त्यालले पुराना दिन सम्झेर अहिले ठूलो फड्को मारिएको बताए । ‘संघीयताअघि तमानखोलामा सडकै थिएन, खोल्न लागेको ट्रयाक पनि अलपत्र थियो’, छन्त्यालले भने, ‘एक दिनको पैदल हिडेर बुर्तिवाङ पुगेपछि मोटर देखिन्थ्यो, चारपाँच वर्षमा ठूलो परिवर्तन भयो ।’





