बागलुङ, २७ चैत – पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिवेसनबाट गण्डकी प्रदेश समितिका कोषाध्यक्ष सहित प्रदेश र जिल्ला समितिहरुमा ११ जना ढोरपाटनकर्मी निर्वाचित भएका छन् । गण्डकी प्रदेश समितिको कोषाध्यक्षमा ढोरपाटन गोरखा सहकर्मी राजेन्द्र न्यौपाने निर्वाचित भएका छन् । उनी पत्रकारहरुको संयुक्त गठबन्धनको प्यानलबाट उमेद्वार थिए । न्यौपानेले निकटतम प्रतिद्वन्दी सालिकराम कोईरालालाई पराजीत गर्दै प्रदेश समितिको कोषाध्यक्ष बनेका हुन् । प्यानलबाटै गण्डकी प्रदेश समितिको महिला सदस्यमा उमेद्वारी दिएकी ढोरपाटन दैनिकी प्रमुख प्रशासकीय अधिकृत रञ्जीता शर्मा बिजयी भएकी छन् । १२ बर्षदेखि ढोरपाटनमा आबद्ध शर्माले निकटतम प्रतिद्वन्दी कवीता श्रेष्ठलाई पराजित गरेकी हुन् ।
ढोरपाटनका बेनी संवाददाता हरिकृष्ण गौतम पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको उपाध्यक्षमा निर्वाचित भएका छन् । ढोरपाटनका सह–सम्पादक तारानाथ आचार्य पत्रकार महासंघ बागलुङको सहसचिवमा सर्वसम्मत चयन भएका छन् । बागलुङमा कृयाशिल पाँचवटा संगठनहरुको सहमतिमा सर्वसम्मत निर्वाचित भएको बागलुङ समितिमा आचार्य सह–सचिव बनेका हुन् । त्यस्तै ढोरपाटनकर्मी दिनेश शर्मा बागलुङको सदस्य र देउमायाँ राना अल्पसंख्यक सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
ढोरपाटन दैनिकका पोखरा सहकर्मी बिजय नेपाली जिल्ला शाखा कास्कीको सदस्यमा निर्वाचित भएका छन् । सहकर्मी खगेन्द्र पराजुली नवलपुर शाखाको सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । मुस्ताङ सहकर्मी आदित्य रसाईली सहसचिवमा निर्वाचित भएका छन् ।
त्यस्तै म्याग्दी संवाददाता धु्रवसाग शर्मा राष्ट्रिय परिषद सदस्यमा, पिम्ला गौतम र मनिषा शर्मा गण्डकी प्रदेश परिषद सदस्यमा निर्वाचित भएका छन् । महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत महाधिवेसन गरेको हो ।
त्यस्तै, अधिवेसनबाट बागलुङ अध्यक्षमा नरेश कंडेल, पर्वतको अध्यक्षमा सन्तोष थापा, म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल र मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । कास्कीको अध्यक्षमा बिमला भण्डारी, नवलपुर अध्यक्षमा बिरेन्द्र पराजुली, स्याङजा अध्यक्षमा श्रीकृष्ण सिग्देल, तनहुँ अध्यक्षमा उज्वल पौडेल, लमजुङ अध्यक्षमा परमेश्वर अधिकारी, गोरखा अध्यक्षमा नरहरी सापकोटा र मनाङ अध्यक्षमा नविन लामिछाने निर्वाचित भएका छन् ।





