
बागलुङ, २८ चैत– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिंचाई आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलो मिटर सिंचाई कुलो निर्माण गरिएको हो ।
गत वर्ष सुरुवात भएका दुई आयोजना र चालु आर्थिक वर्षमा विनियोजन भएका तीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । रेशको झण्डै पाँच सय हेक्टर क्षेत्रफलमा सिंचाई हुनेगरी ती आयोजनाहरु निर्माण भएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए । साविक रेश गाउँविकास समितिको वडा नं. ५, ६ र ७ को अधिकांश जमिनमा सिंचाई पुग्नेगरी ३.५ किलोमिटर देउराली सिंचाई आयोजना निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकारको २ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न हुने चरणमा रहेको यो आयोजनाबाट झण्डै २ सय हेक्टर जमिनमा सिंचाई गर्न सकिने स्थानीय अगुवा ओम बहादुर थापाले बताए । यो आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । रेशखोलाबाट पानी ल्याउनेगरी निर्माण भएको यो आयोजना आगामी असार मसान्तसम्म सबै काम सकिने छ ।
साङ्खोलाको पानी किसानको खेतबारीमा पुग्नेगरी रेशमा अर्को ठुलो आयोजना डोटासाङ् खोला सिंचाई आयोजना निर्माण सम्पन्न भएको छ । एक किलोमिटर लामो सिंचाई आयोजना गत आर्थिक वर्षमा चार सय मिटर र चालु आर्थिक वर्षमा छ सय मिटर निर्माण गरिएको हो । ४० हेक्टर क्षेत्रफल रहेको जमिनका लागि सिंचाई पु¥याउन गण्डकी प्रदेश सरकारको ५४ लाख रुपैयाँ अनुदानमा आयोजना निर्माण भएको हो ।
काठेखोला गाउँपालिकाको ५० लाख रुपैयाँ अनुदानमा साङ्खोला सिंचाई आयोजना निर्माण सम्पन्न भएको छ । रेशको सबैभन्दा ठुलो फाँटका लागि बनाईएको यो आयोजनाबाट २ सय हेक्टर जमिनमा सिंचाई हुनेछ । ८ सय मिटर लामो कुलो यसै आ.व.मा निर्माण सम्पन्न भएको वडाध्यक्ष लामिछानेले बताए । वडा कार्यालयले आफ्नै लगानीमा दामगाडे सिंचाई आयोजना र सिम्ले सिंचाई आयोजना निर्माण गरेको छ । झण्डै २० हेक्टर क्षेत्रफलका लागि निर्माण गरिएका आयोजनाहरुको लागि वडा कार्यालयले ७ लाख रुपैयाँ खर्चेको छ ।
‘खोलामा पानी बग्ने, खेतबारी हिउँदमा बाँझै रहने समस्या अव हट्ने छ’ स्थानीय युवराज गौतमले भने ‘रेशमा यो बर्ष बनेका सिंचाई आयोजनाले किसानलाई उत्साहित बनाएको छ ।’ पानीको प्रसस्तै स्रोत रहेको रेशमा सिंचाई कुलोको अभावमा खेतबारी बाँझै रहने समस्या थियो । सिंचाई आयोजना बनेपछि हिउँदको समयमा खेतबारी हरावरा हुने अध्यक्ष लामिछानेले बताए ।
‘अब रेशको तल्ला फाँटहरुमा तीनखेती हुन्छ, माथिल्लो भुभागमा तरकारी उत्पादन बढ्छ’ उनले भने ‘हामीले लामो प्रयासपछि वडका अधिकांश भागमा पुग्नेगरी सिंचाई आयोजना बनाएका छौं ।’ वडाले वर्षामा भलको पानी तर्काउने र हिउँदमा खोलाको पानी फाँटमा पु¥याउने गरी सडक छेउबाट कुलो निर्माण गरेको छ ।





