बागलुङ, २९ चैत– गण्डकी प्रदेश प्रतिपक्ष दलका सचेतक मणिभद्र शर्मा कंडेलले संघीय संसदलाई सरकारले कठपुतली बनाउन खोजेको आरोप लगाएका छन् ।
उनले संसदमा काम नदिएर सरकारले संसदलाई निकम्मा बनाउन खोजेको समेट टिप्पणी गरे । शनिबार बागलुङमा क्रियाशिल नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको २६ औं, २७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै कंडेलले कानून निर्माणमा सरकार बाधक बनेको आरोपसमेत लगाएका हुन् ।
‘जननिर्वाचित संसद कैयौँ दिनदेखि अबरुद्ध छ, सरकारले कानून बनाउने ढोका बन्द गरेको छ’, कंडेलले भने, ‘कैयौं कानून नबनेर देशका सामाजिक,आर्थिक र सास्कृतिक क्षेत्रमा समस्या थपिएको छ ।’
फाउण्डेसनका अध्यक्ष यमप्रसाद कंडेलको अध्यक्षता, सचिव यमलाल कंडेलको संचालन, सदस्य ताराबहादुर बिकको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस सचिव नवराज पौडेल, जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर बिक, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, सुआहारा परियोजनाका राजेन्द्र अधिकारी, पूर्व सचिव भवानीप्रसाद कंडेल, कार्यकारी निर्देशक प्रमानन्द कंडेलले बोलेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कंडेल र उत्कृष्ठ कर्मचारी उज्वल खनाललाई सम्मान गरिएको थियो ।





