बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नयाँ वर्षमा काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार

नयाँ वर्षमा काउलेका १० घरपरिवारलाई नयाँ घर उपहार


  • तारानाथ आचार्य
  • बैशाख १ २०७८, बुधबार

बागलुङ, १ वैशाख– तीन वर्ष पहिले घरको जगनै मासिने गरी जमिनको धाँजा फाटेपछि गाउँ छोडेका बिरबहादुर दमाई अहिले नयाँ घरको मझेरीमा ढुंगा बिच्छाउँदैछन् । सेताम्मै कपाल फुलेका उनी हतौडा लिएर स–साना ढुंगाहरु मझेरीमा मिलाईरहेको अबस्थामा भेटिए ।
तीन वर्षदेखि अर्काको घर भाडामा लिएर बसेका दमाईलाई नयाँ वर्षसँगै नयाँ घरमा भित्रिने इच्छा छ । बैशाख महिनाभर नयाँ घरमा सर्ने तरखर उनले गरेका छन् । सोही अनुसार उनको घर बनिरहेको छ । तीन वर्षअघि जमिन भाँसिएर विस्थापित भएका काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणले बस्ती निर्माण गरिरहेको हो । निर्माणाधिन एकिकृत बस्तीमा उनले पनि घर पाउँदैछन् । काउलेमा बन्न लागेका सबैघर पाउने विस्थापीत उत्तिकै हौसिएका छन् । आफ्नो भाग लाग्ने घरको रेखदेख र स्याहार गर्न उमेरले ६० कटेका बिर बहादुरलाई खुब जाँगर चलेको छ ।
काठेखोला गाउँपालिका–५ बिहुँ काउलेमा पंक्तिकार पुग्दा त्यहाँ बन्न लागेको बस्तीका केही घर बनिसकेका थिए भने केही घर बन्ने क्रममा छन् । २०७४ सालमा जमिनको धाँजा फाटेर बस्तीनै जोखिममा परेपछि भाँसिएको जमिनभन्दा केहीपर नयाँ ठाउँमा बस्ती स्थानान्तरण गरिएको हो । प्राधिकरणले एकिकृत बस्ती निर्माण गर्ने भनेपछि वडा कार्यालयले २२ लाख ५० हजार रुपैयाँ खर्चेर एकै ठाउँमा जग्गा उपलव्ध गराएको थियो ।
दाताको सहयोग समेतले जग्गा खरिद गरेपछि सुरु भएको एकिकृत बस्ती निर्माणको काम अन्तिम चरणमा छ । सात घर बनिसकेको र तीन घर निर्माणाधिन अवस्थामा रहेको वडा अध्यक्ष शिव प्रसाद कँडेलले बताए । बिजुली, खानेपानी, सडक, ढल र सरसफाई लगायतका संरचना निर्माणको काम भने बाँकी छ ।
पीडितलाई घर हस्तान्तरण गरेपछि पनि ती संरचनाहरु निर्माण गरिने आयोजनाले जनाएको छ । ‘घर निर्माणको दोस्रो किस्ताको रकम लाभग्राहीको खातामा गैसकेको छ’ जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका निमित्त प्रमुख रेणुका कुमारी पाण्डेले भनिन् ‘अन्य संरचनाको काम भवनले हेर्छ, काम सकिएपछि सबै भुक्तानीको प्रक्रियामा जान्छौं ।’ बस्तीमा घर बाहेकका पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले छुट्टै ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
जमिन भाँसिएपछि काउलेका १४ घरपरिवार विस्थापित भएका थिए । वडा कार्यालयले मध्यपहाडी लोकमार्गको छेवैमा ५ रोपनी १२ आना जग्गा ३३ लाख रुपैयाँमा खरिद गरेर पीडितलाई कित्ताकाट गरी जग्गा हस्तान्तरण गरेको थियो । जग्गाका लागि प्रधिकरणले दिएको २० लाख रुपैयाँमा अरु ऋण थपेर जग्गा किनिएको थियो । पूर्ण विस्थापित भएका १० घरलाई ९ आनाका दरले जग्गा उपलब्ध गराई घर निर्माण गरिएको हो ।
‘घर निर्माणको काम सकिएको छ, बैशाखभित्रै हामीले पीडितलाई हस्तान्तरण गर्दैछौं’ गाउँपालिका अध्यक्ष अमर थापाले भने ‘आउँदो बर्खा सुरक्षित घरमा पीडितहरु हुन्छन् ।’
१० परिवारभन्दा बढीको बस्ती निर्माणका लागि प्राधिकरणले बजेट गाउँपालिकामा पठाएको थियो । एकीकृत बस्तीमा निर्माण भएका घरहरुका लागि अन्य लाभग्राहीले जस्तै प्रतिपरिवार तिन लाखका दरले प्राधिकरणले उनीहरुलाई पनि निजी आवास निर्माण अनुदान उपलव्ध गराएको पाण्डेले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->