बागलुङ, ३ वैशाख– हावाहुरीसँगै परेको चट्याङले लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । बिहिबार साँझ चट्याङ लागेर जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको हो ।
उनीे गोठबाट घर फर्किने क्रममा चट्याङले लाग्दा घाईते भएका थिए । उपचारका क्रममा धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
यस्तै, चट्याङले लागेर ताराखोला गाउँपालिकाकै वडा नं. ३ रात्माटामा ४५ वर्षिय कृष्ण कुमारी कार्की र गलकोट नगरपालिका वडा नं. ११ रिघाका ३५ वर्षिय छम बहादुर थापा घाईते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरकी अस्वी दमिनीको घरमा चट्याङ पर्दा नजिकै रहेको घुम्ती पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण पाँच लाख बढीको सामग्री जलेर नष्ट भएको छ ।
निसीखोला गाउँपालिका वडा नं. २ बेलधारामा चट्याङले लागेर स्थानीय तिल बहादुर बिकको गोठमा बाँधेको एक गोरु मरेको छ । आसपासका केही पशुचौपाय घाईते भएको प्रहरीले जनाएको छ ।





