बागलुङ, ३ वैशाख– अघिल्लो शुक्रबार बागलुङको मुलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो । तर, उक्त सर्प गाउँ नजिकै छाडिएकोले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीय त्रसित छन् ।
गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो बिषालु सर्प बस्तीदेखि टाढा वा तराई लैजानुपर्ने स्थानीय रम्मी गौतमले बताइन् । ‘घरैमा आएको सर्प फेरि नआउला भन्न सकिंँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ’,उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् ।
उद्दारमा खटिएका महेन्द्र कतिलाले भने यो सर्प २ हजार २ सय मिटरको उचाइसम्म पाइने बताए । दुई वर्षअघि बागलुङकै कुँडुलेमा सर्पले टोकेर एक युवाको ज्यान गएको थियो । उक्त सर्प कुन प्रजातिको थियो भन्ने यकिन भएन । गत कात्तिकमा सर्पले टोकेकै कारण पर्वतको मोदी गाउँपालिकाका एक पत्रकारको ज्यान गएको छ ।
यी घटनाले पहाडी क्षेत्र भएपनि सर्पको टोकाई बढेको देखिन्छ । उपचार र औषधिको व्यवस्थापन बागलुङमा पनि आवस्यकता देखिएको छ । ‘अब सर्पदंशको उपचार बागलुङको अस्पतालमा पनि आवश्यक देखियो’, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदन कँडेलले भने, ‘समयमा सोच्न सकिएन भने भोली ठूलो दुर्घटना हुन सक्छ ।’ सामान्य तापक्रममा पनि राख्न सकिने औषधि भएकोले एकजना विशेषज्ञ डाक्टर र औषधिको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
बागलुङको अधिकांश भूगोल २ हजार २ सय मिटर उचाइमा पर्छ । जैमिनी नगरपालिका, गलकोट, बागलुङलगायतका भूगोल यही उचाइमा पर्छन् । हावापानीको परिवर्तनले पनि तापक्रम बढिरहेकोले तराइमा पाइने सर्पलाई सहज वासस्थानको रुपमा बागलुङका कतिपय स्थान सुरक्षित बन्दै गएको अर्का सहायक वन अधिकृत सन्दिप पौडेलले बताए ।
कतिलाले पनि उपचार व्यवस्थापन गर्न सुझाव दिएका छन् । बस्ती नजिकै छाडेकोले डराउन नपर्ने उनले बताए । ‘यो सर्पले खासै टोक्दैन, त्यसैले टाढा नलगेको हो’, कतिलाले भने, ‘कुट्ने वा नजिकै गएर जिस्क्याए मात्रै टोक्ने हो ।’ अहिलेसम्म टोकेको रेकर्ड पनि नगन्य भएकोले गाउँकै जंगलमा छाडिदिएको उनले बताए ।
भारतमा गरिएको एक अध्ययनमा २० वर्षमा ६ जनालाई मात्रै गोमनले टोकेको तथ्य छ । यो सर्पले एकपटकमा ६ सय मिलीग्राम बिष निकाल्न सक्छ । मानिसको मृत्यु हुनका लागि भने २० मिलिग्राम मात्रै बिष भएपनि पुग्ने उनले बताए । प्रायः किङ कोब्राले टोक्दैमा बिष लाग्छ भन्नेसमेत नभएको उनले बताए । ‘यो सर्पले चाहेको बेला मात्र बिष बमन गर्छ’, उनले भने, ‘बिष बमन गरेको खण्डमा टोकेको ३० मिनेटमै मानिसको मृत्यु हुन्छ ।’
एक अध्ययन अनुसार भारतमा वर्षमा ५० हजार बढीलाई सर्पले टोक्ने गरेको पत्ता लागेको छ । नेपालको तराइ क्षेत्रमा पनि गर्मी मौषममा सर्पको बिगबिगी हुने गरेको छ । पहाडी क्षेत्रमा भने छिटफुट घटना मात्रै हुने गरेका छन् । हावापानीको परिवर्तनले गर्मी बढ्न थालेको, पाइपको ओसारपसारले तराइमा रहेका सर्प पहाडमा सर्ने गरेकोसमेत भेटिएको छ ।





