बागलुङ, ४ वैशाख– पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पु¥याएर सहि सूचना सम्प्रेषण गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा शनिबार बसेको पहिलो बैठकले ‘घर पछिको रहर–सहि सूचना, प्रविधियुक्त हात, एक ल्यापटप पत्रकारका साथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव विजय रानाले बताए । क्रियाशिल पत्रकारलाई आवश्यक उपकरणहरुको व्यवस्थाका लागि समेत पत्रकार महासंघले पहल गर्ने भएको छ ।
‘क्यामेरा, रेकर्ड, ल्यापटप जस्ता सामग्रीको अभावले पत्रकार सहि सूचना दिनबाट नचुकुन’ अध्यक्ष कँडेलले भने ‘हामीले सशक्त पत्रकार बनाउने अभियान थाल्ने छौं ।’ बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएको छ । ‘निवर्तमान कार्यसमितिले हामी सबैको रहर पत्रकार महासंघको घर अभियान चलायो’ कँडेलले भने ‘अब घर पछिको रहर सहि सूचनाका लागि पत्रकारका हातमा उपकरण आवश्यक छ ।’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाएर तत्कालै काम थाल्ने अध्यक्ष कँडेलले बताए ।





