बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निरन्तर वर्षाले किसान उत्साहित

निरन्तर वर्षाले किसान उत्साहित


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७८, आइतबार

बागलुङ, ५ वैशाख– निरन्तरको खडेरीले आत्तिएका बागलुङका किसानले दुई दिनको वर्षापछि राहतको महशुस गरेका छन् । हिउँदेबाली भित्राएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए ।
शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि किसानले राहतको सास फेरेका हुन् । पानी परेसँगै किसानहरुले खेतबारीमा मकै लगाउन सुरु गरेका छन् । ‘हिजो गोरु नारीयो, पानी परेपछि अब बाँझो बारी जोतिन्छ’ बागलुङको बलेवाका किसान लाल प्रसाद शर्माले भने ‘समयमा पानी परेको भए यतिबेला मकै उम्रिसकेका हुन्थे, ढिलै भएपनि बारीमा मकै लगाउँदै छौं ।’
वर्षमा तीनखेती हुने बागलुङका फाँटहरुमा यसवर्ष ढिला गरि मकै लगाईएको छ । सिंचाईको सुविधा भएका फाँटहरुमा लगाईएको मकै समेत लामो खडेरीका कारण बिरुवा ओईलिएका थिए ।
पानी परेसँगै सिंचाई असुविधा रहेका खेतबारीमा समेत किसानलाई मकै लगायतका बाली लगाउन सहज भएको हो । चैते धान रोप्ने किसानका लागि समेत सहज भएको किसानहरु बताउँछन् ।
दुईदिनको वर्षापछि फाँटहरुमा हल गोरु र मिनिटेलर देखिन थालेका छन् । बागलुङका अधिकांश किसानले मिनिटेलर हलोको प्रयोग गर्ने गरेका छन् । ‘पेट्रोल लिन भाँडो लिएर आउनेहरु पानी परेपछि ह्वात्तै बढेका छन्, हलोको लागि पेट्रोल चाहियो भनेर आउँछन्’ धौलागिरी इन्टरप्राईजेजका रबी सुवेदीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->