बागलुङ, ७ वैशख– गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा मंगलवार बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीका बीच कालिकामा देशका बिभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउँने भक्तजनहरू बढेका हुन् ।
वार्षिक ६ लाख भन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत बर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गा सुरुभएसँगै भीडभाड बढेको छ । सरकारले २५ जना भन्दा धेरै भेला हुन रोक लगाएको भएपनी कालिका मन्दिरमा मंगलबार बिहानैदेखि हजारौंको भीड लागेको हो । भक्तजनलाई सामाजिक दुरी कायम गर्दै पुजाआजामा सहभागि हुन गुठीले आग्रह गरेको भएपनि ठुलो भीडका कारण सामाजिक दुरी कायम भएको छैन् । सार्वजनिक सूचना जारी गरेका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगर समेत उक्त भीडमा कालीका मन्दिर पूजा गर्न पुगेका थिए ।
नेपालका धेरै शक्तिपीठ मध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानको रुपमा चिनिन्छ । धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकोले बडादशैँ र चैतेदशैँमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । मंगलबार मात्रै झण्डै १५ हजार भक्तजन बिहानै मन्दिर पुगेका थिए । भक्तालुहरूको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिर व्यवस्थापन गरेको छ । सामाजिक दुरी कायम गराउनका लागि स्वयंसेवक परिचालन गरिएको छ । पुजापाठ र बलीका लागि समेत छिटो छरितो बनाईएको अध्यक्ष राजु खड्काले बताए ।
आएका भक्तजनकोलागि पूजामा सहजीकरण, वली व्यवस्थापन, यातायातको पार्किङ, सरसफाई र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी भएकाछन् । कोरोनाको जोखिमलाई कमगर्न ज्वरो नापेर मात्रै भक्तजनलाई मन्दिर प्रबेश गराईएको छ । तर भक्तजनहरु आँफैले सरकारले तोकेको मापदण्ड अपनाएका छैनन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विसं १५९१ मा विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाई पनि साथैमा ल्याएकोले कालीगण्डकी नदी किनारमा रहेको जंगलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको इतिहासमा उल्लेख छ ।
कालीका मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकांक्षा पुरा हुने लगायतका विश्वास गर्छन्। अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवन, लगायत देशभरका विभिन्न स्थानबाट कालीका प्रति धेरै विश्वास मान्नेहरू दर्शन गर्न आउने गर्छन् भने भारतीय पर्यटक र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए ।
वडादशैं र चैतेदशैमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो बर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन् । त्यतिबेला हजारौं भक्तजनहरुले पूजा गर्ने, पञ्चवली दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिले पनि खोलिदैन ।





