बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लामो पुल घुम्ने पर्यटकलाई २० रुपैयाँ

लामो पुल घुम्ने पर्यटकलाई २० रुपैयाँ


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७८, बुधबार
फाईल तस्विर

बागलुङ, ८ वैशाख– नेपाल र संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा शुल्क लिएर प्रवेश गराउन थालिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मीटर लामो पुलमा २० रुपैयाँ लिएर प्रवेश गराइएको हो । ‘अहिलेसम्म निशुल्क गएका थियौं, चैतेदशैको दिन बिहान २० रुपैयाँ मागियो’ बागलुङ नगरपालिका वडा नं. ४ का अमिन बिकले भने, ‘पुल तरेको शुल्क लिएको पहिलो पटक हो ।’
चैतेदशैको अवसरमा कालीका भगवती मन्दिरको दर्शन गर्न आएका अधिकांसले यो पुल हेर्न आउन थालेका छन् । पर्यटकीय दृष्टीले आर्कषक र नौलो भएकोले पर्यटक अनिवार्य पुलमा पुग्न थालेका छन् ।
बागलुङ नगर कार्यपालिकाको बैठकले उक्त पुल तरेको शुल्क लिने व्यवस्था गरेको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए । ‘पर्वत र बागलुङका बासिन्दालाई शुल्क नलिने, भ्रमणका लागि आएकालाई शुल्क लिने निर्णय भएको हो’ आचार्यले भने, ‘पुल घुम्नै भनेर आएका, फोटो खिच्न खोज्ने र मनोरञ्जन लिनलाई उक्त रकम लिएका हौं ।’ नगरपालिकाले कर्मचारी समेत खटाएर टिकट काट्ने व्यवस्थापन गरेको उनले बताए ।
गत असारमा निर्माण सम्पन्न भएर संचालनमा आएको यो पुल दुई महिनाअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका थिए । यो पुल बनेपछि पर्वतको पाङ तथा खुरकोटका बासिन्दा बागलुङ बजार आउन र बागलुङका मानिस पर्वत जान सहज भएको छ । यो पुलबाट कालीगण्डकी नदी, धौलागिरी हिमाल लगायतका स्थान देख्न सकिन्छ । थप आर्कषणका लागि बत्ती जडान गरेर राती बल्ने व्यवस्था समेत छ ।
यो पुलको आर्कषक नामाकरण गर्न समेत समिति गठन भएको छ । उक्त समितिले आर्कषक नाम प्रस्ताव गर्नेलाई २५ हजार पुरस्कार दिने निर्णय गरेको छ । पुल तर्दा लिएको शुल्कले नियमित मर्मतका लागि कोष बनाउने र खर्च गर्ने योजना बनाएको आचार्यले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->