बागलुङ, ८ वैशाख– धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाईरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शंकास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।
नेपाल सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको र परीक्षण सकिँएलगत्तकै कोरोना परीक्षण थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बिक पोख्रेलले जानकारी दिए ।
‘अहिले मेसिन परीक्षणमा छ’ पोख्रेलले भने– ‘सम्भवतः यहि सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।’ मेसिनबाट एक दिनमा ७० जनाको कोरोना परीक्षण हुने डा. पोख्रेलले बताए । कोरोना परीक्षणको लागि दुई जना टेक्नोलोजिष्टसहित चार जना प्राविधिकले काम गर्नेछन् । टेक्नोलोजिष्ट नारायण कोइराला र लक्ष्मी श्रेष्ठसहित अन्य दुई जना प्राविधिकले काम गर्ने छन् ।
बागलुङमा आरटी पिसिआर मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । संघ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो ।





