बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उत्पादन बढाउन रुख काट्ने अभियान

उत्पादन बढाउन रुख काट्ने अभियान


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७८, बिहिबार
फाईल तस्विर

बागलुङ, ९ वैशाख– खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरुप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रुख काट्ने अभियान शुरु भएको छ । अघिल्लो वर्षदेखि शुरु भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो । खेतबारीका छेउ कुनामा रहेका रुखको तप्केनीले उत्पादनमा असर गरेको भन्दै किसानकै सल्लाहमा रुख काट्ने अभियान थालिएको हो ।
यहाँका बासिन्दाले घर वरिपरिको बारीमा सुन्तला, अदुवा र बेसार खेती गर्दै आएका छन् । उत्पादन बढाउन वडा कार्यालयकै अगुवाइमा रुख काट्ने अभियान थालिएको हो । गत वर्षदेखि थालिए पनि पूरा नभएको कामलाई यो वर्ष सक्ने लक्ष्य राखिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । “काम नलाग्ने ठूला रुख काट्न चुनौतीपूर्ण नै रहेछ”, वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भने, “काटेका रुखको व्यवस्थापन गर्ने कामले पनि लामो समय लियो ।”
अग्ला र अनुत्पादक रुखले उत्पादनमा असर गरेको कुरा बुझेपछि उपभोक्ता समितिमार्फत रुख काट्ने अभियान गरेको समितिका अध्यक्ष ऋषिराम कँडेलले बताए । “किसानको उत्पादनमा दोब्बर वृद्धि गर्ने र सबैलाई व्यावसायिक बनाउने लक्ष्य छ”, उनले भने “जथाभावी रुख ढाल्दा घर र सुन्तला नष्ट हुने भएपछि मेसिनमार्फत काम गरेका छौँ ।” वडा कार्यालयले लगानी गरेर मेसिन खरिद गरिदिएपछि पालैपालो अग्ला रुख काट्ने अभियान थालिएको उनले जानकारी दिए ।
यो अभियानले जङ्गली जनावरको समेत डर हटेको स्थानीयपवासीले बताए । ठूला रुख कटान गर्दा काठका रूपमा प्रयोगसमेत भएको छ । स्याउला भने कम्पोस्ट मलको रुपमा प्रयोग गरिएको छ । वडा ५ र ६ को बिहुँ गाउँबाट मात्रै वर्षेनी रु दुई करोडभन्दा धेरै मूल्यको सुन्तला बजारमा जाने गर्छ । घरघरका किसानले सडक छेवैमा बसेर पनि लाखौँको सुन्तला बेच्छन् । सिङ्गो गाउँ नै सुन्तला गाउँका रूपमा परिचित बन्दै गएपछि अन्य अवरोध हटाएर किसानलाई व्यावसायिक बनाउन थालिएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । यहाँका किसानले व्यावसायिक पशुपालन गरेर दूधको समेत बिक्री गर्छन् । दुधालु पशु चौपायका लागि आवश्यक घाँससमेत रुख काटेपछि आफ्नै खेतबारीमा उत्पादन हुने किसान रुद्रप्रसाद कँडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->