बागलुङ, ९ वैशाख– संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । बिहिबार नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचनामार्फत पुलमा लगाईएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता भएको जनाएको हो ।
वैशाख ७ गते चैतेदशैंको दिनबाट पूर्वाधार उपयोग करका रुपमा नगरले रकम संकलन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो । प्रमुख प्रशसकीय अधिकृत जीवन ज्ञवालीले सूचना प्रकाशन गरेर कर लिने काम फिर्ता गरिएको जानकारी गराएका हुन् ।
बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मीटर लामो पुलमा २० रुपैयाँ लिएर प्रवेश गराइएको थियोे । पर्यटकीय दृष्टीले आर्कषक र नौलो भएकोले पर्यटक अनिवार्य पुलमा पुग्न थालेका छन् । सोही अवस्थालाई मध्येनजर गर्दै नगरपालिकाले पुलको मर्मत सम्हार लगायतका कामको लागि भन्दै पूर्वाधार उपयोग कर लगाएको थियो ।
नगरपालिकाले कर्मचारी खटाएर टिकट काट्ने व्यवस्थापन गरेको थियो । बिहिबार प्रकाशित सूचनासँगै कर्मचारीले पुल नजिकै स्थापना गरेको काउन्टर हटाएका छन् । पुल तर्दा लिएको शुल्कले नियमित मर्मतका लागि कोष बनाउने र खर्च गर्ने योजना नगरपालिकाले बनाएको थियो ।





