बागलुङ, १० वैशाख– पालिकाले ध्यान नदिंदा रणनीतिक सडकहरु साँघुरा बनेका छन् । सडक छेवैमा घर बनाउने क्रम पनि बढेको छ । यसरी बनाएका घरले सडक चौडा पार्ने काममा समेत समस्या पर्ने देखिएको छ ।
राष्ट्रिय राजमार्गदेखि दुई जिल्ला जोड्ने रणनीतिक सडकमा पनि मापदण्ड पालना नभएको हो । नेपाल सरकारले २०७२ सालमा ल्याएको बस्ती विकास मापदण्डले तोकेका सूचन पनि पालना नभएका हुन् ।
भूकम्प प्रतिरोधी घर निर्माणका लागि मात्र नभई यो मापदण्डले सडकहरु चौडा पार्ने, सेटव्याक राख्ने लगायतका धेरै प्रावधान राखेकोमा पालना गर्न कठिन भएको जनप्रतिनिधिले गुनासो गरे । मापदण्ड अनुसार चार तलामाथीको घर बनाउनु परेमा नगरपालिका स्तरबाट नक्सापास गराउने चलन छ । अग्ला घर बनाउनु परेमा माटो परीक्षण गर्ने र भूकम्प प्रतिरोधी अन्य प्रावधान पुरा गर्नुपर्छ । त्यस्ता घरले सडकका लागि पनि ठाउँ छाड्नुपर्ने प्रावधान छ ।
कम्तिमा डेढ मीटरसम्म सेडव्याक राख्ने, कम्तिमा १२ इन्च चौडाको पिलर ठड्याउनु पर्ने र पिलरभन्दा बाहिर पर्खाल निकाल्न नपाउने प्रावधान पालना नभएका हुन् । तीब्र रुपमा सहरी विकास भैरहेको सदरमुकामसहित गलकोट र बुर्तिवाङ बजारमा मापदण्ड उल्लंघनका घटना बढी देखिएको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए । सम्बन्धीत नगरपालिकाले चासो बढाउन नसकेको उनले टिप्पणी गरे ।
मापदण्डले मुल सडकको भित्र ५० मीटरसम्म घर बनाउनु पर्दा ४ मीटरको सडक हुनुपर्ने तोकिएको छ । बागलुङका अधिकांस गल्लीमा मोटरसाइकल लैजान पनि नमिल्ने छन् । गलकोटमा अहिले यस्ता घर निर्माणमा चासो कम देखिएको हो ।
जैमिनी नगरपालिकाले मापदण्ड लागू गर्न तयारी गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । ‘हामीले कार्यविधि बनाएर लागू गर्दैछौं, अग्ला र ठूला घर बनाउन खोज्नेलाई मापदण्डबारे जानकारी दिने गरिन्छ’ इन्जिनियर विवेक सापकोटाले भने, ‘नगरपालिका भएपनि ग्रामीण बस्ती धेरै भएकोले मापदण्ड पूर्ण कार्यान्वयन भने गाह्रो छ ।’ मुकाम रहेको स्थान र कालीगण्डकी करिडोर छेउमा मात्रै मापदण्ड निर्धारण गर्नुपर्ने उनले बताए ।
ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अग्ला घर बन्ने होड चलेको छ । नगरप्रमुख देवकुमार नेपालीकै घर साँढे सात तलाको छ । ‘मापदण्ड लागू गर्न खोजेपनि सानो क्षेत्रमा गाह्रो छ’ नेपालीले भने, ‘सानो घडेरीमा अग्ला घर बनाउनै पर्ने बाध्यता छ ।’ बरु भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गर्ने उनले बताए । घरको क्षेत्रफल १ हजार वर्गफिटभन्दा धेरै भएमा माटो परिक्षण, स्ट्रक्चरल एनलाईसिस लगायतको काम गर्नुपर्ने प्रावधान पुरा नभएको हो ।
‘नक्सापास गर्ने बेलामा सानो देखाएर पछि ठूलो घर बनाउने धेरै छन्’ बागलुङ नगरपालिकाका एक इन्जिनियरले भने, ‘माथिल्लो तहको अनुमतिबाट उम्कनका लागि त्यो रणनीति गरेको देखिन्छ ।’ नगरपालिकाले ठूलो स्टक्चरको भवन बनाउनु परेमा भवन डिभिजन कार्यालयमा नक्सा पठाउने गरेको छ । मापदण्ड मिचेका घरलाई एक लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना लिएर पास गराउन थालेपछि मापदण्ड मिच्न खोज्ने धेरै भेटिएको हो ।
मापदण्ड लागू गर्न नसकेको अवस्थाका घरमा मात्रै जरिवाना लगाएको नगरप्रमुख जनकराज पौडेलले बताए । सदरमुकाममा भने वर्षौदेखिका कुलो र नालीमाथी पनि मापदण्ड मिचेर घर बनिरहेका छन् । बागलुङ नगरपालिकामा डेढसय बढी मापदण्ड मिचेका घर भेटिएको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए ।





