
नवलपुर, १० वैशाख– नवलपुरको पहाडी गाउँपालिका बुलिङ्गटारमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १५ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । बुलिङटारको वडा नं. ६ स्थित बर–भञ्ज्याङ भन्ने ठाउँमा लु१ज ३७१० नं को जीप दुर्घटना हुँदा जीपमा सवार पाल्पा रामपुर वडा नं. ६ का २३ बर्षका अजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
जीपमा सवार १६ जनामध्ये ५ जनाका भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा र ९ जनाको देवचुलीको दलदलेमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नारायणी सामुदायिक अस्पतालमा उपचाररत ५ जनामध्ये बौदीकाली गाउँपालिका वडा नं २ का ४९ बर्षीय मोहनबहादुर लामिछाने मगर र बौदीकाली ३ का ३५ बर्षका खिमबहादुर मास्कीमगरको अवस्था गम्भीर छ ।
दलदलेबाट पहाडतर्फ जाँदै गरेको रामपुर यातायातको जीप ओरालोमा अनियन्त्रित हुँदा घुम्तीबाट सडक तल खसेको हो । जीप चालक पाल्पा रामपुर ५ का ४३ बर्षका कमलराज लम्साललाई डेढगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।





