बागलुङ, १२ वैशाख– भूकम्पले भत्केपछि बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानका लालप्रसाद शर्माले प्रावधान अनुसार घर बनाए । राष्ट्रिय पुन निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका शर्माले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन् ।
दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राबिधिक आउनु पूर्वनै बनाए । उनले पनि तेस्रो किस्ताको रकम पाएनन् । प्राधिकरणले तोकेको मापदण्ड अनुसार नभएको भन्दै किस्ताको रकम रोकिएको लम्सालले सुनाए ।
२०७२ साल वैशाख १२ गतेको भुकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडा भन्दा सरकारी अनुदान पाउने आशामा काढेको ऋणले लालप्रसाद र प्रेमलाई पोलिरहेको छ । बागलुङमा पुन निर्माण प्राधिकरणले भुक्तानी रोकेका कारण पीडामा ऋणको भारी बोकेकाहरुको संख्या धेरै छ । ताराखोला गाउ“पालिकाका एक लाभग्राहीले ढुंगाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्यांकन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुंगाको छाना फालेर जस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।
भूकम्पपछिको पुन निर्माणको काम थालेको ६ बर्षमा पनि बागलुङमा अझै २८ प्रतिशत लाभग्राहीको घर नबनेको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरण मार्फत बागलुङका निजी आबास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगती देखिएको हो । २ हजार ४ सय ५२ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५ सय घर निर्माण गर्न नसकेको हो । जिल्ला आयोजना कार्यालयकी निमित्त प्रमुख रेणुका पाण्डेका अनुसार २ सय ४४ घर निर्माणाधिन छन् । ५७ वटा घरले किस्ता नलगेको र २ सय १ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वतह हटाइएको उनले बताइन् । प्राधिकरणले ५ बर्षको अबधिमा २ वटा पक्की पुल निर्माण गरिरहेको, झण्डै १० किमी सडक निर्माण गरेको छ । १ सय ७९ विद्यालय मध्ये हालसम्म १ सय १६ भवन निर्माण सम्पन्न भएका छन् । ६३ विद्यालय निर्माणाधिन अवस्थामा छन् । यो अवधिमा २ वटा स्वास्थ्य चौकी समेत निर्माण भएका छन् । ५८ वटा विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेश मध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणधिन रहेको शिक्षा अधिकारी मोतीलाल चपाईले बताए ।
बिद्यालय हेर्ने शिक्षा शाखा, भवन हेर्ने र समग्रता हेर्ने गरी ३ प्रकारका कार्यालय भएकोले प्राविधिक र लाभग्राहीले समन्वयको अभाव भएको गुनासो गरे । प्राधिकरणले बागलुङमा निर्माण गरिरहेको एकिकृत बस्तिको काम भने अन्तिम चरणमा पुगेको छ । वैशाख महिना भित्रै काठेखोला गाउँपालिका–५ बिहुँमा निर्माणाधिन एकिकृत बस्तिको काम सकिने पाण्डेले बताईन् । दश परिवारकालागि वनिरहेका घरहरु मध्ये ७ घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ । बस्तिमा निर्माण गरिने सडक, खोपानी, शौचालय, विद्युत लगायतका संरचनाको निर्माण भने अन्यौलमा छ ।





