शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाका सक्रिय संक्रमितहरु घरघरमै

कोरोनाका सक्रिय संक्रमितहरु घरघरमै


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १२ २०७८, आइतबार

बागलुङ, १२ वैशाख– पछिल्लो समय बागलुङमा कोरोनाका १ सय २६ जना सक्रिय संक्रमित छन् । तर अस्पतालतहमा दुइचार जना मात्रै छन् ।
अधिकांस घरघरमा बसेका छन् । होम आइसोलेसनमा बसेकाले नियम तथा मापदण्ड पुरा गरेका छन् वा छैनन् त्यो शंकास्पद छ । उनीहरुले सामान्य मापदण्ड पुरा नगरेको खण्डमा बागलुङ कोरोनाको हटस्पट बन्न खतरा बढेको छ ।

तीन महिनासम्म झण्डै शुन्य संक्रमित बनेको बागलुङको समुदाय र बिद्यालय तहमा संक्रमण देखिएपछि आइतवारबाट मात्रै बिद्यालय बन्द गर्ने निर्णय भएको छ । यस अघिको दुइ साताको लापरवाहीले संक्रमणको दर बढेको हो । बिदेशबाट आएका देखि संक्रमीत भएकाले गर्ने लापरवाहीनै यसपटकको समस्याको कारण भएको स्वास्थ्यकर्मीले बताए ।

यसपटक बगलुङ नगरपालिका वडा नं. १४ को जनताधन माबि सबैभन्दा बढी प्रभावित भयो । बिद्यालय सम्म संक्रमण प्रवेश गर्नुमा बिदेशबाट आएका र बिद्यालयका शिक्षक समेतको लापरवाही जस्तो देखिएको छ । उनीहरुले समयमा सर्तकता नगरेपछि संक्रमण बढेको हो । तर त्यो भन्दा पहिला बागलुङ नगरपालिकाको वेवास्ता प्रमुख कारण भएको टिप्प्णी समेत हुन थालेको छ । ‘समयमै बिद्यालय बन्द गराउन सकेको भए यतिधेरै समस्या आउने थिएन’ वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘आन्तरिक रुपमा वडा भित्रको व्यवस्थापनमा पनि लाग्न सकिएन ।’ हरेक वडाले बिदेशबाट आएका तथा वडा भित्र कोही संक्रमण भैहालेमा स्वास्थ्य मापदण्ड पालना गराउन पहल गर्ने बिषय कमजोर भएको उनले बताए ।

संक्रमण देखिएपछि बलेवा क्षेत्रका ३ वटा वडालाई निशेधाज्ञा लगाइएको छ । सबैको चासो पछि बलेवामा लकडाउन गराएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । स्वाब परीक्षणकालागि पठाएपछि दुइदिन सम्म बिद्यालय नियमित खुलेकोले बा“की बिद्यार्थी, उनीहरुको घर परिवार र छिमेकीलाई समेत संक्रमण बढेको थियो । स्वास्थ्य कार्यालय बागलुङले बलेवा सहित नगरपालिकाका शंकास्पद क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्य थालिसकेको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

संक्रमित राख्नकालागि धौलागिरी अस्पतालमा २५ बेड आइसोलेसन छ । तर अस्पतालमा पनि पुरै बेडमा संक्रमित छैनन् । घरघरमा बस्ने व्यवस्थाले केही सहज भएपनि मापदण्ड पालनामा भने लापरवाही हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘घरघरमा बस्नेले सुरक्षा मापदण्ड पालना अनिवार्य गर्नुपर्छ ।’ पछिल्लो समय धमाधम भारतबाट आउनेको संख्या बढेको छ । तर त्यसरी आउनेलाइ राख्न क्वारेन्टाइन समेत छैनन् । आएकाले पनि थाहै नदिइ घरघरमा पुग्ने गरेपछि समुदायमा संक्रमण पुगेको हो । अघिल्लो बर्ष सयौं मानिस राख्न सक्ने क्वारेन्टाइन बनाएका संस्था र स्थानीय तहले अहिले वास्तै नगरेका हुन् । बिरामीको संख्या बढेमा के गर्ने भन्ने अस्पताल, नगरपालिका र स्वास्थ्य कार्यालयमा योजना बनेको छैन ।

प्रशासनले भने चैतेदशैमा हजारौंलाई रोक नलगाएको मठमन्दिरमा त्यसपछि रोक लगाएको छ । ‘जोखिमको दिन केही वास्ता भएन, आज छिटफुट आउने भक्तजन रोकेर के पाइन्छ’ बागलुङ नगरपालिका २ की डिलकुमारी पुनले भनिन्, ‘सर्वसाधारणलाई निशेष गर्ने, सरकारी गाडिमा आउनेलाई वास्तै छैन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशदिन अघिनै बागलुङलाई उच्च जोखिमको जिल्ला मानेको थियो । त्यतिबेला यहा“को एक प्राविधिक शिक्षालयमा पढ्ने बिद्यार्थी, केही सामुदायिक बिद्यालयका शिक्षक र बिद्यार्थी समेत झण्डै ५० जना मात्रै संक्रमित थिए । अहिले देखिएका संक्रिय संक्रमित पनि एकदुइजना बाहिरका छन्, बाँकी सबै बागलुङ नगरपालिका भित्रका मात्रै हुन् । उनीहरु मध्ये अधिकांस अहिले पनि घरघरमै छन् । ‘बालबालिका मात्रै संक्रमित भएकोले कोठा भित्रै राखिएको छ’ एक अभिभावकले भने, ‘सदरमुकामको अस्पताल पु¥याएर उनीहरु झन आत्तिन्छन् ।’ बलेवाका अधिकांस बालबालिकामा रुघाखोकी र सामान्य ज्वरो समेत रहेको स्वास्थ्यकर्मीले बताए । जटिल समस्या भएमा अस्पताल पठाउनेगरी घरघरमै सुरक्षित बस्न भनिएको उनले जानकारी दिए ।

मन्त्रीपरिषदले बिद्यालय बन्दको निर्णय नमान्दा जोखिम अझै बढेको अभिभावकले बताए । बिद्यालय बन्द नगरेपछि जवरजस्ती बालबालिका पठाउनु परेको स्थानीय सगुन लामिछानेले गुनासो गरिन् । बागलुङ नगरशिक्षा अधिकारी डण्डपाणी शर्माले पहिलो चरणमा जोखिम नदेखिएकोले खोलेको र जोखिम देखिएपछि बन्द गराएको बताए । शैक्षिक सत्रको शुरुवातमा पनि धेरै पढाइ छुटेकोले बन्द गर्न नखोजेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->