बागलुङ, १३ वैशाख– गर्मी मौषममा देखिने औंलो (मलेरिया) रोग निवारणकालागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर सन् २०२५ भित्रै निर्मूल पार्ने नेपाल सरकारले तयारी गरेको छ ।
औंलो रोग दिवशको अवसरमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले नेपालले राखेको लक्ष्य पूरा गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक भएको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रममा गुरौले लक्ष्य भेट्न सञ्चार माध्यमले आम नागरिकको घरघरमा सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे ।
‘हरेक नागरिकले घरघरमा सरसफाइ गर्ने, लामखुट्टे नियन्त्रण गर्ने र प्रभावकारी उपायमार्फत स्वस्थ रहने काम गर्नुपर्छ,’ उनले भने, ‘सबै मिलेर काम गरेमा सरकारी लक्ष्य पूरा गर्न सहजै सकिन्छ ।’ नेपालमा आन्तरिक संक्रमण भएका १ सय २ जना र विदेशाबाट आएका मध्ये ५ सय जनामा औंलो भेटिएको उनले जानकारी दिए ।
पछिल्ला केही वर्षदेखि यो क्रम घटिरहेकोले नेपालले संक्रमण शून्य बनाउन सक्नेसमेत उनको भनाइ छ । गण्डकी प्रदेशमा थोरै संख्यामा मात्रै संक्रमित देखिएकोले आगामी सन् २०२२ भित्रै संक्रमण शून्य बनाउन पहल भएको गुरौंले प्रस्तुतिकरण गरेका थिए । बागलुङमा अघिल्लो वर्ष ३ जना, गत वर्ष शुन्य र चालु वर्ष एक जना विदेशबाट आएको व्यक्तिमा संक्रमण देखिएकोले नियन्त्रणमा सफलता मिलेको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिइन् ।





