बागलुङ, १३ वैशाख– कोरोना संक्रमण तीब्र भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ को बलेवा क्षेत्रमा निशेधाज्ञा लगाइएको छ । तर बानपा १३ बाट सिफारिस लिएर स्थानीय महेन्द्रबहादुर पाठक जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आइपुगे ।
निशेधाज्ञा लगाएको स्थानबाट आएको भन्दै प्रशासनले उनलाई सेवा दिन आनाकानी ग¥यो । आइतवार दिउसोको यो घटनामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पीसीआर रिपोर्ट ल्याएपछि मात्रै काम गर्न सकिने बताएका थिए । कार्कीले पाठकलाई घर फर्कन लगाएका छन् ।
जापानबाट आएका पाठकले श्रीमती र छोराछोरी पनि लैजानकालािग नागरिकता सच्याउने, प्रतिलिपि लिने र नाता प्रमााणित लगायतको काम लिएर प्रशासन आएका थिए । प्रशासनले भने निशेधाज्ञाको क्षेत्रका भएकोले उनीहरुमा कोरोना संक्रमण छ वा छैन भन्ने प्रमाणित नभएसम्म कागजात बुझ्ने र सेवा प्रवाह गर्न नसक्ने बताएको हो । ‘इमरजेन्सी रहेछ, त्यसैले सिफारिस दिएको थिए, प्रशासनमा काम भएन’ वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने, ‘सेवा ग्राहीले मापदण्ड पालना गरेपछि दिनुपर्ने हो ।’ प्रशासनका कर्मचारीले भने संक्रमण फैलन सक्ने भन्दै कागजात बुझ्न आनाकानी गरेका थिए ।
प्रशासनका एक कर्मचारीका अनुसार संक्रमण छ छैन भन्ने प्रमाणित नभइ सेवा दिंदा आँफू पनि असुरक्षित हुने र अन्य सेवाग्राहीमा पनि असर पर्ने बताए । ‘उहाँहरु जस्तै हामीपनि सुरक्षित भएर काम गर्नुपर्छ, हाम्रो कारणले अरुले समेत दुःख पाउने अबस्थामा सेवा दिन मिल्दैन’ ती कर्मचारीले भने, ‘दैनिक सयौं मानिस आउने ठाउँमा हामीले पनि सुरक्षाको मापदण्ड पालना गर्नैपर्छ ।’ ती व्यक्ति संक्रमित भए नभएको प्रमाणित नभएसम्म गाडि चढेर आएका मानिस समेत कन्ट्याक्ट ट्रेसिङमा पर्न सक्ने समेत उनले औल्याए । ‘उनी संक्रमित रहेछन् भने नयाँपुल देखि सार्वजनिक यातायात चढेर आएकाले कतिजनामा असर पर्न सक्छ ?’ ती कर्मचारीले भने, ‘समयमा यस्ता कुरा ध्यान नदिए स्थिति भयावह हुन सक्छ ।’ १७ गते सम्मकालागि निशेधाज्ञा भएकोले त्यसपछि पनि उनको काम गर्न सकिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । वडा अध्यक्ष शर्माले भने काम गरिदिएर उम्काएको भए राम्रो हुने प्रतिक्रिया दिए ।





