पोखरा, १४ वैशाख- पोखराको बगरमा रहेको पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहार हुदाँ ३ जना घाइते भएका छन् । विभिन्न माग सहित क्याम्पस प्रशासनमा ताला लगाइ आन्दोलनमा रहेका थिए । तर क्याम्पसमा ताला लगाउँदा परिक्षा फारम भर्न नपाएको भन्दै केहि विवाद हुदाँ ती विद्यार्थी कुटिएका क्याम्पसका एक कर्मचारीले बताए । सोहि विषयमा पुन झगडा भएको थियो । पहिले विवाद भएपछि कानुन पढ्दै आएका एक विद्यार्थीले बाहिरबाट केहि युवाहरु आएर उनीहरु माथि प्रहार गरेका थिए । बाहिरबाट आएका युवाहरुले रड, वेशबलको डन्डी लगायतले प्रहार गरेको एसोसियसन अफ कम्प्युटर साइन्स एण्ड इन्फर्ममेसन टेक्नोलोजि पिएन अध्यक्ष रुपक वास्तोलाले बताए । ‘कहाँबाट आए थाहा भएन, क्याम्पस भित्रै कसरी हतियार लिएर आए ? उनले क्याम्पस प्रशासन र आइटी विद्यार्थी बिचको विवादमा बाहिर हमला भएको बताए । प्रहारबाट रुपेश आचार्य, राम अधिकारी र प्रभात लामिछाने घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भएको छ ।
२०७३ साल देखि नै क्याम्पस संग बारम्बार आइटी पुस्तकालय, प्रयोगशाला र इन्टरनेटको विषयमा आवाज उठाउने गरेपनि वेवास्ता गर्दा आफुहरु ताला लगाउन बाध्य भएको रुपकले बताए । ‘हामीले लामो समय देखि आन्दोलन गरेका हौँ, तर बाध्यकारी भएर आज ताला लगायौँ तर हामी माथि हमला भयो ।’ उनले भने, कोभिड–१९ महामारी पछि क्याम्पसमा आइटीस्रोत साधनको प्रयोग नभएको हुदाँ उक्त विषयमा हामीले सहुलियत माग गरेको छ । पुस्तकालय तथा इन्टरनेटको समेत व्यवस्थापन गर्दै शुल्क घटाउनुपर्ने विद्यार्थीहरुको माग छ । आन्दोलनरत विद्यार्थीहरुले आइटीको शुल्क अन्य सामुदायिक क्याम्पसमा भन्दा निकै महंगो रहेको बताए । विद्यार्थीले ताला लगाउँदा फारम भर्न गएकाहरु रित्तै फर्किन बाध्य भए । कोभिडको कारण लकडाउनको स्थिति आएपछि मंगलबार क्याम्पसमा विद्यार्थीको भिड थियो । विहानै देखि विद्यार्थी लकडाउन हुने डरले फारम भर्न आउँदा अचानक आइटीका विद्यार्थीले ताला लगाउँदा सयौँ विद्यार्थी मारमा परेका थिए ।
घाइतेमध्ये एक विद्यार्थीले क्याम्पसकै मिलेमतोमा प्रहार गरेको बताए । ‘शान्तिपुर्ण आन्दोलनमा थियौँ, वार्ता चलिरहेकै थियो तर अचानक नचिनेका व्यक्ति आएर प्रहार गरे ।’ उनले भने, आफुहरुले टासेको विज्ञप्ती समेत च्यातेका थिए । पृथ्वी नारायण क्याम्पसका क्याम्पस प्रमुख सरोज कोइरालाले क्याम्पसका विवाद हुदाँ हात हालाहालको स्थितिमा पुगेको बताए । उनले घाइतेको उपचार क्याम्पस प्रशासनले गर्ने बताउँदै हाल घाइतेहरु उपचार पश्चात फर्किसकेको जानकारी दिए । ‘म विहान ९ वजेसम्म वार्ता मै थिए, त्यसपछि खाना खानका लागि निस्किए विद्यार्थीले ताला लगाएछन् । क्याम्पसमा भर्ना हुने देखि परिक्षा फारम लगाएतका लागि निकै भिड थियो सोहि पक्ष र आन्दोलनरत पक्षबिच हातहालाहालको अवस्था आएछ ।’ प्रमुख कोइरालाले भने, कोभिडको कारण फारम भर्ने विद्यार्थीको संख्या ठुलो रहेको जानकारी दिए । उनले विश्वकै समस्यामा रहेको कोभिडको कारण लकडाउन हुनेहुदाँ त्रिभुवन विश्वविद्यालयले समय थप गर्ने बताए । आन्दोलनरत विद्यार्थीबिच सहमतीको वातावरण निमार्ण हुनै लाग्दा विवाद भएका कारण बुधबार सहमतिको प्रयास गर्ने बताए ।





