बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फोहोरमा काम गर्नेमा संक्रमण जोखिम

फोहोरमा काम गर्नेमा संक्रमण जोखिम


  • ढोरपाटन संबाददाता
  • बैशाख १६ २०७८, बिहिबार

बागलुङ, १६ वैशाख– हिउँदवर्षा बगरको बालुका गिटी नचालेसम्म खान पुग्दैन । त्यही बगरमा पनि ठेकेदारका मेसिन चल्छन् । त्यसैले हातले खनीखोस्री गर्नेको जीवन निर्वाह गर्न गाह्रो छ । बागलुङ नगरपालिका १ मालढुंगाको माझी बस्तीकी सुष्मा माझीले दशकदेखि कहिले बालुवा खोस्रिने काम गर्छिन् त कहिले फोहोरको डंगुरमा काम गर्छिन् ।
नगरपालिकाभित्रको फोहोर लगेर वडा नं. १ को खुत्र्रुकेमा फाल्ने गरिएको छ । त्यही फोहोरमा कवाडी सामान खोजेर बेच्ने र कमाएको पैसाले जीवन गुजारा गरिरहेकी छिन् । उनका २ छोरी र १ छोरा छन् । तर पछिल्लो समय कवाडीमा पनि ठेकेदारले कर लगाएको छ । ठेकेदारले नकुहिने प्लास्टिकजन्य वस्तु संकलन गर्नेलाई ज्यालादारी पैसा दिन्छन् । त्यसरी काम गर्दा दैनिक २ सय ५० देखि ३ सय रुपैयाँसम्म मात्रै कमाइ हुने उनले बताइन् ।
बजारमा कोरोना संक्रमणको जोखिम बढेको छ । तर, जोखिमबाटै संकलित फोहोरमा दिनभरी खेल्नेको जीवन सुरक्षाबारे चासो दिने कोही छैन । पहुँचवालाले पीसीआर गर्छन् । खोप लगाउँछन् । तर, फोहोरको डंगुरमा कवाडी खोज्नेको स्वास्थ्यबारे नगरपालिकाले पनि चासो दिएको छैन । बरु नगरपालिकाले डंगुरमा गएर कवाडी संकलन गर्न रोक लगाइएकोले मजदुरले कमाइ गरिरहेको काम पनि छाड्नुपर्ने अवस्था छ ।
संक्रमणको जोखिम भएकोले सुष्माजस्तै नियमित कवाडी संकलन गर्न जाने कमला माझी र सम्झना मगर पनि परिवार पाल्नका लागि जोखिम मोलिरहेका छन् । नदी किनारमा बालुवा संकलनका लागि जाँदा ज्यानकै जोखिम हुन्छ । वर्षातमा सकिनसकी पानीमा डुबेर बालुवा निकालेर बेच्छन् । ‘पेट पाल्नैप¥यो, पानीमै डुबेर काम गर्नुपर्छ,’ माझीले भनिन्, ‘अहिले कवाडीमा जाँदा बढी जोखिम छ ।’
काम नगरी खान नपाउने उनले बताइन् । गिटी कुटेर पनि उनीहरुले केही कमाइ गर्थे । कोरोनाको संक्रमणपछि निर्माण क्षेत्र सुस्ताएको उनले गुनासो पोखिन् । कोरोनाकै कारण देखाएर सडक, घर र सार्वजनिक स्थलको निर्माण घटेको हो । भएका निर्माणमा ठेकेदारले सीधैं नदीको बालुवा र गिटी एस्काभेटरले उठाएर लैजाने गरेको उनले गुनासो गरिन् ।
गत वर्षको कोरोना कहरपछि सयौं मजदुरहरु पलायन भएका छन् । अन्यत्र काम पाउनेले छाडेपनि विकल्प नभएकाहरु नदी किनारमै जोखिम मोलेर बसिरहेका छन् । उनीहरुले भोको पेट भर्ने खोजीमा रोगसँग पनि लड्नु परेको गुनासो गरे । ‘कोरोनाले रोजगारी घटेको छ, त्यसैले घरमा खाने अन्न पनि छैन,’ माझीले गुनासो गर्दै भनिन्, ‘पेट पाल्ने गरी कमाइ हुने काम चाहियो ।’
गत वर्ष कोरोना कहरका बेला केही संस्थाले राहत स्वरुप चामल र दाल वितरण गरेका थिए । यो वर्ष भने बन्द नभएकोले वितरण गर्ने कोही छैन । तर, जोखिममा काम गरिरहेको उनीहरुले बताए । नदी किनारमा ठेकेदारले ठेक्का लिँदा विस्थापित मजदुरको पक्षमा बालुवा खोस्रन दिनुपर्ने अर्का मजदुर सेती दर्जीले बताइन् । उनले पनि केही समयदेखि फोहोर संकलन गरेर दैनिक २ सय ५० मात्रै कमाउन सकेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->