
बागलुङ, १६ वैशाख- शुक्रबार साँझ साढे ७ बजे सदरमुकाम बागलुङ बजारमा व्यवसाय गरेर बस्ने नन्दप्रसाद घिमिरे बलेवामा परिवारसँग कुरा गर्दागर्दै फोन काटियो । महत्वपूर्ण कुराकानी हुँदाहुँदै काटिएको फोन पटक पटकको प्रयासबाट पनि सम्पर्क हुनै सकेन ।
शुक्रबार साँझै पु¥याउनुपर्ने खबर नन्दप्रसादले शनिबार बिहान ७ बजेमात्रै जानकारी गराउन पाए । उनको फोन मात्रै काटिएन, इन्टरनेटमा समेत समस्या आयो र बन्द भयो । नेपाल टेलिकमको सबै सेवाहरुको एकै पटक नेटवर्क गएकाले सदरमुकाममा नन्दप्रसाद जस्तै अधिकांश नागरिक सम्पर्कविहीन भए ।
सडक विस्तार र विद्युत विस्तारका क्रममा सम्बन्धित आयोजना र नेपाल टेलिकमबीच सहकार्य नहुँदा धौलागिरि क्षेत्रको सञ्चार सेवा पटकपटक प्रभावित हुने गरेको छ । शुक्रबार बेलुका पनि मध्यपहाडी लोक मार्गअन्तर्गत पर्वतको पातिचौर खण्डमा भइरहेको कामका कारण धौलागिरिको सञ्चार सेवा प्रभावित भएको हो ।
टेलिकमको फाइबरमा समस्या आउँदा यहाँका कतिपय निजी कम्पनीले सञ्चालन गरेको इन्टरनेटमा समेत समस्या आउने गरेको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताए । ‘साँझ एक्स्काभेटरले हाम्रो फाइबर काटिदिएछ, हामीलाई जनकारी नै भएन, त्यसैले मर्मतमा समय लाग्यो,’ शर्माले भने, ‘काम गर्नेले साइटको जानकारी दिएको भए समयमै मर्मत गरिन्थ्यो, ढिला जानकारी हुँदा बनाउन सकिएन ।’
पछिल्लो समय दैनिकजसो धौलागिरिका ४ जिल्ला मुकामहरुमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । भैरहवा, पोखरा हुँदै बागलुङ आइपुगेको टेलिकमको फाइबर तारमाथि हुने प्रहार नै सञ्चार सेवा टुट्नुको मुख्य कारण भएको शर्मा बताउँछन् ।
नारायणगढ बुटवल सडकखण्ड स्तरोन्नति गर्न भइरहेको काम र मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डमा भइरहेको कामका कारण समस्या आउने गरेको टेलिकमले जनाएको छ । ‘फाइबर छुटेकै ठाउँमा जोड्न मिल्दैन, काटिएको तार जोड्नै समय लाग्छ,’ शर्मा भन्छन्, ‘जानकारी मात्रै पाउने हो भने हाम्रो टिम तयारी अवस्थामा नै हुन्छ तर कसैले जानकारी दिँदैन ।’
सडक छेवैंमा रहेका नेपाल विद्युत प्राधिकरणका पोलहरुसँगै टेलिकमले फाइबरको तार विस्तार गरेको छ । प्राकृतिक प्रकोपका कारणले पनि बेला बेलामा तार टुट्ने गरेको छ । स्थानीय तहहरुले निर्माण गर्ने सडक तथा खानेपानीका योजनाहरुबाट समेत टेलिकमको फाइबर तार प्रभावित हुने गरेको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले भने समन्वयमा नै काम हुने गरेको दाबी गरेको छ । आफ्नो माताहातमा निर्माण व्यवसायीले काम गर्ने भएकाले कहिलेकाहीं जानकारीनै नदिँदा समस्या भएको आयोजनाका इन्जिनियर उज्वल शर्माले बताए । ‘उहाँहरुले देखाएका ठाउँहरुमा काम हुँदा हामीले जानकारी गराउने गरेका छौं,’ शर्माले भने ‘कहिलेकाहीं हामी आफंैलाई तार छ भन्ने जानकारी हुँदैन ।’ राष्ट्रिय राजमार्गहरुको स्तरोन्नतीको काम चल्दा सर्वसाधारणले भने सञ्चारको सुविधामा सास्ती खेपिरहेका छन् ।





